काठमाडौं । वहुचर्चित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कारण यतिबेला नेपाली राजनीतिमा अन्यौलपूर्ण स्थिति सृजना भएको छ । एमसीसी सम्झौताकै कारण पछिल्लो समय नेपाली राजनीतिको समिकरणमा समेत उथलपुथल हुने सम्भावना बढेको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभामा टेबल भएपछि त्यसको प्रत्यक्ष असर सत्ता समिकरणमा समेत पर्ने सम्भावना प्रवल भएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस कुनै पनि हालतमा एमसीसी पारित गर्ने कसरतमा जुटेको छ । खासगरी नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्न बढी नै सक्रिय देखिएका छन् ।
अर्कोतिर, सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कुनै पनि हालतमा यथास्थितिमा एमसीसी पारित गर्न नहुने आफ्नो अडान कायमै राखेका छन् । यी दुई सत्ता सझेदार दल सरकार छाड्ने तर, यथास्थितिमा एमसीसी पारित नगर्ने अडानमा छन् ।
एमसीसी प्रस्ताव संसदमा टेबल भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि एकाएक सबैको चर्चा र चासोको केन्द्र बन्न पुगेको छ । यद्दपि, यसअघि आफैले संसदमा प्रवेश गराएको एमसीसीको विषयमा एमालेले यतिबेला आफ्नो आधिकारीक धारणा सार्वजनिक गरिसकेको छैन ।
तर, यतिबेला नेपाली कांग्रेस र माओवादी केन्द्रले एकअर्कालाई मनोवैज्ञानिक दवाव दिन एमालेलाई नै ‘अचुक अस्त्र’ को रुपमा प्रयोग गरेको देखिन्छ । एमसीसीकै कारण दलहरुबीच देखिएको राजनीतिक ‘खिचातानी’ र ‘अर्थपूर्ण मनोवैज्ञानिक युद्ध’ ले यतिबेला स्थिति रोचक बनेको छ ।
दुई सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी पारित गर्न सहयोग नगर्ने अडान लिएपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेको सहयोग लिने कसरत सुरु गरे । यसैक्रममा प्रधानमन्त्री देउवाले पटक÷पटक एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरुसँग भेटघाट पनि गरे ।
तर, एमाले पनि प्रधानमन्त्रीलाई सहयोग गर्न सहजै तयार हुने स्थिति देखिएको छैन । एमालेले यतिबेला एमसीसीलाई ‘बार्गेनिङ’ को माध्यम बनाएको देखिन्छ । आफुले लामो समयदेखि राख्दै आएको माग पूरा भए एमसीसी पारित गर्न सघाउने विषयमा सोच्न सकिने जवाफ एमालेले प्रधानमन्त्री देउवालाई दिएको छ । एमालेले प्रधानमन्त्रीसँग आफुले कारवाही गरेका १४ जनालाई सांसदबाट हटाउनु पर्ने वा सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने माग अगाडि सारेको छ ।
कांग्रेस र एमालेबीच बिहीबार साँझ भएको दोस्रो चरणको वार्तामा पनि एमालेले यही माग अगाडि सारेको थियो । यद्दपि, अहिलेको असहज स्थितिलाई भरपुर उपयोग गर्दै एमाले वर्तमान सत्ता समिकरण तोड्न तल्लिन देखिन्छ । एमालले कारवाही गरेका सांसदहरु यतिबेला माधवकुमार नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी पार्टी दत्र्ता गराएर वर्तमान सरकारमा पनि सहभागी छन् । एमालेको मागपछि प्रधानमन्त्री देउवा दोधार र थप संकटमा परेका छन् ।
त्यसमाथि, नेपाली राजनीतिमा ‘अस्थिर पात्र’ र ‘चतुर खेलाडी’का रुपमा दरिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार अप्रत्यासित रुपमा एमालेका अध्यक्ष ओलीलाई भेटेर प्रधानमन्त्री देउवामाथि अर्को ‘मनोवैज्ञानिक त्रास’ थपिदिएका छन् ।
अर्कोतिर, एमसीसीको विपक्षमा देखिएका सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले आवश्यक परे आफुहरु सरकारबाट बाहिरिने तर, सरकारमा नरहे पनि प्रधानमन्त्री देउवालाई दिएको समर्थन भने फिर्ता नलिने रणनीति बुनेको देखिन्छ । यी दुई दलले यस विषयमा प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेको बुझिएको छ । यस्तो स्थितिमा यी दुई दल सरकारबाट बाहिरिए पनि एमालेको समर्थन बिना नै प्रधानमन्त्री देउवाको सरकार टिकिरहने सम्भावना रहन्छ ।
शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । एक कार्यक्रमका लागि धनगढी पुगेका नेपाललाई प्रचण्डले छलफलका लागि काठमाडौं बोलाएका थिए । प्रधानमन्त्रीसँग भेट्नुअघि प्रचण्ड र नेपालबीच छलफल भएको थियो । त्यसपछि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न वालुवाटार पुगेका थिए । अध्यक्ष प्रचण्डको साथमा अर्थमन्त्री जनार्दन शर्मा सहभागी थिए । उक्त भेटमा प्रचण्डले सकेसम्म सत्ता गठबन्धन जोगाउने अन्यथा दोस्रो विकल्प (सरकार वाहिर रहेर वर्तमान सरकारलाई समर्थन गर्ने) मा जाने विषयमा छलफल गरेको बताइएको छ । त्यसअघि शुक्रबार विहान नेपालले पनि प्रधानमन्त्री देउवासँग भेट गरेका थिए ।
यसैबीच, प्रधानमन्त्री देउवाले शुक्रबार साँझ बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका छन् । प्रधानमन्त्री पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा रसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित बालकोट पुगेका थिए । दिनभर सत्ता गठबन्धनका नेताहरूसँग छलफल गरेका देउवा साँझ ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।