रोनाल्डो पिएसजी आए मेस्सी अन्तै जाने !

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार लियोनेल मेस्सीले क्लब छाड्न सक्ने चर्चा शुरु भएको छ। क्लबको नयाँ प्रशिक्षकको रुपमा जिनेदिन जिदान आउने चर्चा चलिरहँदा मेस्सीले क्लब छाड्ने चर्चा पनि शुरु भएको हो।

विभिन्न खेल मिडियाहरुका अनुसार जिदान यस सिजनको अन्त्यपछि पिएसजी आउनेछन्। पिएसजी र जिदान बीच त्यससम्बन्धमा मौखिक सहमति समेत भइसकेको छ। पिएसजीले जिदानलाई दिर्घकालिन जिम्मेवारी दिने तयारी गरिरहेको छ।

जिदान पिएसजी आएको खण्डमा उनले पहिला सँगै काम गरेका खेलाडीहरु पनि ल्याउन सक्नेछन्। जिदानले करिम बेन्जेमा र क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडीलाई ल्याउन सक्ने बताइन्छ।

एल नेशनलका अनुसार पिएसजीले किलियन एम्बाप्पेको ठाउँमा बोरुसिया डर्टमण्डका स्ट्राइकर एर्लिङ हालाण्डलाई ल्याउन चाहन्छ। तर जिदानले भने हालाण्ड भन्दा पनि रोनाल्डोलाई बढी प्राथमिकता दिन सक्छन्।

यदि त्यस्तो भएको खण्डमा मेस्सी पिएसजी छाड्ने निर्णयमा पुग्न सक्छन् भन्ने एल नेशनलको दावी छ। रोनाल्डो पिएसजी आउने पक्का भए लगतै मेस्सीले विकल्प खुल्ने एल नेशनलले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

तर एल नेशनलबाट त्यस्तो दावी भएपनि पिएसजीले रोनाल्डोलाई भित्र्याउने सम्भावना कमै देखिन्छ। जारी सिजनमा रोनाल्डो म्यानचेस्टर युनाइटेडका लागि अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्। रोनाल्डोमा बढ्दो उमेरको प्रभाव देखिरहेको छ। यस्तोमा पिएसजीले सायदै रोनाल्डोलाई भित्र्याउला।

प्रकाशित : शनिबार, फागुन १४, २०७८१२:०६

रेलिगेसन जोनको वाटफोर्डलाई युनाइटेडले हराउन सक्ला ? खेल कुन च्यानलमा हेर्ने ?