हालाण्डका कारण बेन्जेमा रियलबाट आउट ? हालाण्डले राखे यस्तो शर्त !

एजेन्सी – बोरुसिया डर्टमण्डका स्ट्राइकर एर्लिङ ब्राउट हालाण्डले आउने ट्रान्सफर विन्डोमा क्लब परिवर्तन गर्ने पक्का छ। डर्टमण्डले हालाण्डलाई बेच्ने स्पष्ट निर्णय गरिसकेको छ। डर्टमण्डको सो निर्णयसँगै युरोपका धेरै जस्ता ठूला क्लबहरुको ध्यान त्यस तर्फ केन्द्रित भएको अवस्था छ।

हालाण्डलाई भित्र्याउने दौडमा स्पेनिस महारथी रियल म्याड्रिड पनि छ। रियलले पनि हालाण्डलाई भित्र्याउन चाहेको छ। त्यसको लागि रियलका अधिकारीहरुले डर्टमण्डलाई यस अगाडी नै सम्पर्क गरिसकेको बताइन्छ। रियलले हालाण्डका एजेन्ट र पितासँग पनि कुराकानी गरिसकेको छ। तर हालाण्डले रियल जाने भनेर निर्णय गरिसकेका छैनन्।

हालाण्ड क्लब परिवर्तनको विषयमा हतारमा निर्णय गर्न चाहँदैनन्। अब जाने क्लबमा दिर्घकालिन रहने हालाण्डको चाहना छ। हालाण्ड एक राम्रो क्लबको केन्द्रमा रहने चाहना राखिरहेका छन्। कुनै पनि एक क्लबको योजनाको केन्द्रमा रहेर खेल्ने उनको चाहना छ।

रियल जान हालाण्डको शर्त

स्पेनिस मिडिया एल नेशनलका अनुसार करिम बेन्जेमा रियलमा रहेको खण्डमा हालाण्ड रियल जाने छैनन्। हालसालै एल नेशनलले प्रकाशित गरेको एक रिपोर्टमा यस्तो दावी गरिएको हो।

हालाण्ड करिम बेन्जेमाले रियल छाडेको खण्डमा मात्रै रियल जान चाहेको एल नेशनलको दावी छ। रियलमा किलियन एम्बाप्पे पनि आउने चर्चा छ। एम्बाप्पे र बेन्जेमा दुवै खेलाडी रियलमा हुँदा आफ्नो महत्व कम हुने हुँदा हालाण्डले त्यस्तो शर्त राखेको बताइन्छ।

हालाण्डलाई रियलको प्रतिद्वन्दी बार्सिलोनाले पनि भित्र्याउन चाहेको छ। हालाण्डका लागि रियल र बार्सिलोना बीच उच्च तहको प्रतिष्पर्धा हुने देखिन्छ। हालाण्डले कहाँ जाने भनेर निर्णय नगरेसँगै यी दुई क्लब सक्दो प्रयास गर्ने मुडमा देखिन्छन्।

प्रकाशित : शनिबार, फागुन १४, २०७८१२:४७

हालाण्डले कहाँ जाने भनेर निर्णय गर्दै, एक महिना भित्रै टुंगो लाग्ने !