एजेन्सी – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको अग्रता तीन अंकमा झरेपछि पेप ग्वार्डियोला अर्को ठूलो प्रतिष्पर्धामा उत्रँदैछन्। ग्वार्डियोलाको म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आज एभर्टनको सामना गर्न लागेको हो।
एभर्टनको घरेलु मैदानमा सिटी आज जित निकालेर प्रिमियर लिगमा अग्रता बढाउने योजना सहित मैदानमा उत्रनेछ। आज हुने खेलमा जित निकाल्न सके सिटी दोस्रो स्थानमा रहेको लिभरपुल भन्दा ६ अंकले अगाडी हुनेछ। तर सिटीले बराबरी वा हार बेहोरेको खण्डमा भने प्रिमियर लिग उपाधि होडमा लिभरपुललाई ठूलो लाभ मिल्नेछ।
एभर्टन विरुद्ध यस अगाडी भएको खेलमा सिटी ३-० ले विजयी भएको थियो। त्यसबेला रहिम स्टर्लिङ, रोड्री र बर्नार्डो सिल्भाले समान १-१ गोल गरेका थिए। सिटी जारी सिजनमा तीन पटक मात्र पराजित भएको छ। पछिल्लो खेलमा सिटी टोटेनह्यामसँग ३-२ को गोल अन्तरले पराजित भएको थियो।
एभर्टनका नयाँ प्रशिक्षक फ्रांक लाम्पार्ड जितको शृंखला भंग भएको सिटी विरुद्ध अप्रत्याशित जित निकाल्ने दाउमा हुनेछन्। जारी सिजनमा कम्जोर प्रदर्शन गरेपछि एभर्टनले केहि समय अगाडी मात्रै लाम्पार्डलाई प्रशिक्षकमा नियुक्त गरेको थियो।
झन्डै रेलिगेसन जोन नजिक रहेको एभेर्टनले जारी सिजनमा मात्रै ६ खेलमा जित निकालेको छ। २३ खेल खेल्दा एभेर्टनले १३ खेलमा हार बेहोरेको छ। एभर्टनको मात्रै २२ अंक छ। जबकी सिटीको भने ६३ अंक रहेको छ। सिटीले सिजनका २६ खेल खेल्दा २० खेलमा जित निकालेको छ। एभर्टन र सिटी बीचको खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।