एजेन्सी – म्यानचेस्टर युनाइटेडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो हालको फर्मलाई लिएर आफू सन्तुष्ट रहेको बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा रोनाल्डोले आफ्नो फर्मलाई लिएर आफू खुशी रहेको बताएका हुन्।
रोनाल्डोले आलोचना गर्नेहरु प्रति लक्षित गर्दै संख्या र तथ्यांकले आफू कस्तो खेलाडी रहेको स्पष्ट पार्ने बताए। गोल संख्या र प्रदर्शनले सबै प्रश्नहरुको जवाफ दिने रोनाल्डोको भनाई छ।
“मैले म राम्रो छु भनेर भन्नुपर्ने अवस्था छैन। संख्या र तथ्यांकले म के हुँ र कस्तो छु भन्ने देखाउँछ। सबैको अगाडी मैले के कस्तो गरिरहेको छु भन्ने तथ्यांक छ। केहि कुराको महत्व हुन्छ भने ती तथ्य हुन्। तथ्य बाहेक अरु कुराको के मतलब। त्यसैले म आफ्नो फर्मलाई लिएर खुशी छु।”,रोनाल्डोले भने।
अन्तर्वार्ताका क्रममा रोनाल्डोले गोल गर्दै राष्ट्रिय टोली र म्यानचेस्टर युनाइटेडलाई मद्दत गरिएको कुरालाई उल्लेख गरे। १८ वर्ष देखि उच्च तहमा खेलिरहेको र अझै पनि उच्च स्तरको खेल प्रदर्शन गर्ने आफ्नो चाहना रहेको रोनाल्डोको भनाई छ।
उनले भने,”म अझै पनि गोल गरिरहेको छु, राष्ट्रिय टोली र म्यानचेस्टर युनाइटेड दुवैमा मानिसहरुलाई मद्दत गरिरहेको छु। म यसलाई जारी राख्न चाहन्छु। मैले १८ वर्षको उमेर देखि उच्च तहमा खेल्न थालेको थिएँ र यो स्तरमा १५-१६ वर्ष पछि छु।”
रोनाल्डोले थप भने,”यो मेरो समर्पण, मेरो जोश हो। मेरो महत्वाकांक्षा जहिले पनि कडा परिश्रम गर्ने हुन्छ। यही कारणले गर्दा म प्रदर्शन, ट्रफी, गोल र कीर्तिमानका आधारमा विश्वको शीर्षमा रहन्छु।”