एजेन्सी – फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट दिएपछि शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार पूनरागमन जित निकालेको छ ।
पिएसजीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थितिमा सेन्ट इटिएनमाथि ३–१ को सहज जित निकालेको हो । पिएसजीको जितमा एमबाप्पेले दुई तथा डानिलो पेरेइराले एक गोल गरे । सेन्ट इटिएनका डेनिस वोउएंगाको गोल सान्त्वना बन्यो ।
पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खलेमा घरेलु टोली पिएसजी खेलको १६औं मिनेटमा डेनिसको गोलबाट पछि परेको थियो । तर, पिएसजी ४२औं मिनेटमा एमबाप्पेको गोलबाट खेलमा फर्किएको थियो । एमबाप्पेले लियोनेल मेस्सीको पासमा गोल गर्न सफल भएका थिए ।
४७औं मिनेटमा मेस्सीकै पासमा एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पिएसजीलाई २–१ ले अघि बढाए । ५२औं मिनेटमा डानिलो पेरेइराले गोल गर्दै पिएसजीलाई खेलमा ३–१ ले अघि बढाए । उनले एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी विजयी हुन सफल भयो ।
यो जितसँगै पिएसजीले शीर्षस्थानमा १६ अंकको स्पष्ट अग्रता लिएको छ । पिएसजीको २६ खेलबाट ६२ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको निसको ४६ अंक छ । पराजित सेन्ट इटिएन २२ अंक जोडेर १६औं स्थानमा रहेको छ ।