एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का युवा स्टार किलियन एम्बाप्पेले ज्लाटन इब्राहिमोभिचलाई पिएसजी गोलमा भेट्टाएका छन्। शनिबार राति सेन्ट इटिएन विरुद्धको गोलमा दुई गोल गरेसँगै एम्बाप्पेले पिएसजी गोल संख्यामा इब्राहिमोभिचसँग बराबरी गरेका हुन्।
शनिबार राति घरेलु मैदानमा एक गोलले पछि परेको स्थितिमा पिएसजीले सेन्ट इटिएनमाथि ३–१ को सहज जित निकाल्यो। पिएसजीको जितमा एमबाप्पेले दुई गोल गर्दै एक असिस्ट दिएका हुन्।
दुई गोल सँगै पिएसजीका लागि एम्बाप्पेको गोल संख्या १ सय ५६ पुगेको छ। इब्राहिमोभिचले पनि पिएसजीका लागि १ सय ५६ गोल नै गरेका छन्। स्मरण रहोस्, यो गोल संख्या सम्पूर्ण प्रतियोगिताको हो।
इब्राहिमोभिचलाई भेट्टाएपछि एम्बाप्पेले के भने ?
पिएसजी गोल संख्यामा इब्राहिमोभिचलाई भेट्टाएपछि एम्बाप्पेले इब्राहिमोभिच जस्तो खेलाडीसँग बराबरी गर्न सक्नु शानदार कुरा रहेको बताए। त्यसक्रममा इब्राहिमोभिचले पिएसजीका लागि जे गरेका छन् त्यो आफूलाई थाहा भएको उल्लेख गर्न पनि एम्बाप्पेले छुटाएनन्।
एम्बाप्पेले भने,”मेरो १ सय ५६ औं गोल ? यो अविश्वसनीय रूपमा विशेष छ। मलाई लाग्छ कि इब्राहिमोभिच जस्ता खेलाडीको कीर्तिमानसँग बराबरी गर्ने मौका पाउनु शानदार कुरा हो। उनले यहाँ के गरेका थिए भन्ने हामी सबैलाई थाहा छ। यसको मतलब हामी उच्च स्तरका साथ खेलिरहेका छौं।”
घरेलु मैदानमा इब्राहिमोभिचको रेकर्डसँग बराबरी गर्न पाउँदा धेरै खुशी लागेको पनि एम्बाप्पेले बताए। निरन्तर अगाडी बढ्ने र महत्वपूर्ण लक्ष्य प्राप्त गर्न तर्फ आफू उत्प्रेरित हुने एम्बाप्पेको भनाई छ।