काठमाडौँ – साताको तेस्रो दिन भोलि मंगलबार सार्वजनिक बिदा गरेको छ। देशभरका हिन्दूहरुले मनाउने महाशिवरात्रि पर्व मंगलबार परेको हुँदा मंगलबार सार्वजनिक बिदा हुने भएको हो।
मंगलबार सार्वजनिक विदा हुने बारे नेपाल सरकारको राजपत्रमा नै उल्लेखित छ। सरकारले महाशिवरात्रिलाई देशभर सार्वजनिक बिदा हुने पर्वको सूचीमा राखेको छ।
हरेक वर्ष फागुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिको दिनमा महाशिवरात्रि मनाइने गरिन्छ। यस दिन भगवान शिवको पूजा आराधना गरिन्छ भने शिव मन्दिरहरुमा भक्तजनहरुको भिड हुन्छ।
यस्तै भगवान् पशुपतिनाथ विराजमान पाशुपत क्षेत्रमा आगामी मङ्गलबार हुने महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरेर पर्वलाई व्यवस्थित ढङ्गले सुसम्पन्न गर्न सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम पूरा भएको जनाएको हो ।
कोषका कोषाध्यक्ष एवं प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीले कोभिड–१९ सङ्क्रमणको जोखिम अन्त्य नभइसकेकाले सरकारले निर्धारण गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गरेर दर्शनार्थीहरुलाई मेला भर्न अनुरोध गरे ।
गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ भने मित्रपार्क–जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरी हुँदै पश्चिमबाट, बत्तिसपुतली–गौशाला–एयरपोर्ट–पिङ्गलास्थान भएर सुमार्गी भवन हुँदै चार शिवालयबाट पशुपतिभित्र प्रवेश गर्न पाइनेछ ।