एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आउने ट्रान्सफर विन्डोमा विभिन्न खेलाडीहरुलाई आफ्नो टार्गेट बनाउने भएको छ। भविष्यलाई ध्यानमा राखेर टीम निर्माण गरिरहेको बार्सिलोनाले विभिन्न पाँच खेलाडीहरुलाई आफ्नो टार्गेटमा राखेको हो।
आर्थिक संकटबाट गुज्रिरहेको भएपनि बार्सिलोनाले आउने ट्रान्सफर विन्डोमा केहि खेलाडीहरुलाई भित्र्याउने बार्सिलोनाको योजना छ। त्यसको लागि बार्सिलोना अहिले देखि तयारीमा जुटिसकेको छ।
जनवरी ट्रान्सफर विन्डोमा बार्सिलोनाले तीन खेलाडी भित्र्याएको थियो। बार्सिलोनाले भित्र्याएका खेलाडीहरुमा पिएरे इमरिक औवामियाङ, फेरान टोरेस र एडामा ट्राओरे छन्। यी मध्ये ट्राओरेमा बार्सिलोना आएका छन्।
अब बार्सिलोनाको ध्यान नर्वेली युवा स्टार एर्लिङ हालाण्ड र फ्रेन्च मिडफिल्डर पल पोग्बा तर्फ केन्द्रित भएको छ। बोरुसिया डर्टमण्डका हालाण्डको रिलिज क्लज आउने समरबाट सक्रिय हुनेछ भने पोग्बा पनि समरमा फ्री ट्रान्सफरमा उपलब्ध हुनेछन्। बार्सिलोना हालाण्डका लागि रिलिज क्लज वापतको रकम तिर्न तयार भइसकेको छ। यस्तै फ्री ट्रान्सफरमा उपलब्ध हुने पोग्बालाई पनि बार्सिलोना गुमाउन चाहने छैन।
बार्सिलोनाको टार्गेटमा अरु को-को ?
बार्सिलोनाले भित्र्याउन चाहेको खेलाडीका सूचीमा म्याथिज डे लिग्टको पनि नाम छ। इटालियन क्लब युभेन्टसका डिफेन्डर लिग्टलाई आउने जनवरी ट्रान्सफर विन्डो भित्र्याएर डिफेन्सलाई टाइट गर्ने बार्सिलोनाको योजना छ।
यस सिजनको अन्त्यमा फ्री एजेन्ट हुँदै गरेका फ्रान्क केसी माथि समेत बार्सिलोनाको नजर रहेको छ। साथै चेल्सीका डिफेन्डर २५ वर्षीय एन्ड्रियास क्रिस्टेनसेनले पनि बार्सिलोनाको ध्यान तानिरहेका छन्।

