एजेन्सी – तीन पटकको विश्व विजेता तथा ब्राजिलियन फुटबल लेजेन्ड पेले अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । उनी १३ फेब्रुअरीमा नियमित उपचारको लागि अस्पताल भर्ना भएका थिए ।
कोलोन ट्युमर र युरिनरी ट्र्याक्ट इन्फेक्सनको उपचारका लागि अस्पताल भर्ना भएका पेले सोमबार साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालबाट डिस्चार्ज भएका हुन् । सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो ।
त्यसपछि सन् २०१९ मा पिसावमा संक्रमण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । गत सेप्टेम्वरमा उनको ट्युमरको शल्यक्रिया गरिएको थियो । त्यसयता, उनी निरन्तर फलोअपको लागि अस्पताल गइरहेका छन् ।
पेलेले सन् १९५८, १९६२ र १९७० गरी तीन पटक विश्वकपको उपाधि जितेका थिए । उनले ब्राजिलका लागि ९१ खेलमा ७७ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनी चार वटा विश्वकपमा गोल गर्ने चार खेलाडी मध्येका एक हुन् । उनले व्यवसायिक खेल करियरमा १२ सय भन्दा बढी गोल गरेको बताइएको छ ।

