एमसिसीको समर्थनमा ओली र एमाले !

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाबाट अनुमोदित अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई समर्थन गरेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिनिधिसभाको आइतबारको बैठकले एमाले सांसदको अवरोधबीच व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गरेको थियो। एमसिसी अनुमोदन प्रक्रियामा सहभागी नभएको एमालेले मंगलबार पत्रकार सम्मेलन गरी अब त्यसलाई कार्यान्वयन गर्नुपर्ने भन्दै समर्थन गरेको हो।

एमालेले आफ्नो पार्टीले सिफारिस गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने वा सभामुख सच्चिनुपर्ने माग राखेर भदौदेखि संसद्मा अवरोध खडा गर्दै आएको छ।

आफ्नो माग पूरा नभएसम्म संसद् सञ्चालनमा अवरोध जारी राख्ने र संसदीय कुनै पनि प्रक्रियामा भाग नलिने भन्दै उसले निरन्तर वेल घेराउ गर्दै आएको छ। यसैकारण ऊ दलीयरूपमा एमसिसी अनुमोदन प्रक्रियामा सहभागी भएन। आफ्नै अवरोधका कारण संसद्मा एमसिसीबारे धारणा राख्न वञ्चित एमालेले पत्रकार सम्मेलन गरी सो परियोजनाबारे बोलेको हो।

‘एमसिसी परियाजनासम्बन्धी सम्झौता संसद्बाट अनुमोदन भइसकेको छ। अब राष्ट्रहित अनुकूल हुनेगरी यसको कार्यान्वयन हुनुपर्दछ। पारित भइसकेको परियोजनाबारे राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ’, एमालेले भनेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसिसी विकास परियोजना भएकाले पार्टीको यसमा बेग्लै धारणा नहुने तर यसलाई राष्ट्रघाती छ भन्नेहरूले रातारात राष्ट्रवादी देखेको र लाज ढाक्न व्याख्यात्मक टिप्पणीको नाटक गरेको बताए। ‘एउटा सम्झौता संसद्बाट पारित भइसकेपछि कार्यान्वयन नगर्ने भन्ने हुन्न। प्रक्रियागत त्रुटि गर्न हुँदैनथ्यो, सरकारले गर्‍यो। तर पास भइसकेपछि कार्यान्वयनमा जानुको विकल्प छैन,’ ओलीले भने।

प्रतिनिधिसभाले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गरेको भोलिपल्ट सोमबार सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्याख्यात्मक टिप्पणी भियना कन्भेन्सनअन्र्तगत आएको दाबी गरेका थिए। तर ओलीले त्यसको कुनै औचित्य नभएको बताएका छन्। पत्रकार सम्मेलनमा सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) प्रति आक्रामकरूपमा प्रस्तुत भएका ओलीले केही पनि परिवर्तन नगरी संसद्ले एमसिसी पास गरेको दाबी गरे।

ओलीले एमसिसी सदनबाट पास भइसकेकाले अब यसलाई राष्ट्रहितविपरीत नहुने गरी, स्वाधीनताविपरीत नहुने गरी, सार्वभौभ नेपालीको स्वतन्त्रतामा कुनै चोट नपुग्ने गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिँदै विकास निर्माणमा एमाले बाधक नभएको बताए।

ओलीले सत्ता पक्षले प्रमुख प्रतिपक्षी एमालेलाई राष्ट्रिय महत्वको एमसिसीमा धारणा राख्न नदिईकन सदनबाट पास गराएको भन्दै आपत्ति जनाए। उनले संसदीय मर्यादाविपरीत संसद् चलाएको आरोप लगाए।

प्रकाशित : बुधबार, फागुन १८, २०७८०९:५८

सभामुख विरुद्ध महाअभियोगको तयारीमा एमाले !