सभामुख विरुद्ध महाअभियोगको तयारीमा एमाले !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले अघि सारेको माग पुरा नभए सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने चेतावनी दिएका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई निलम्बन गरेको सूचना सभामुख सापकोटाले टाँस नगरेकोमा एमाले रुष्ट रहँदै आएको छ । सोही कारणले एमालेले लामो समयदेखि संसदको बैठकसमेत अवरुद्ध बनाउँदै आएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा सभामुखले राजीनामा नदिए महाअभियोग ल्याउने उनले चेतावनी दिएका हुन् । तर, उनले आफ्नो पार्टी देशमा राजनीतिक अस्थिरता ल्याउने पक्षमा नरहेको भन्दै सभामुखलाई आफै राजीनामा दिन आग्रह गरे ।

‘हामी सभामुखविरुद्ध महाभियोग प्रस्ताव ल्याउन सक्छौँ । यदि उहाँले समयमै राजीनामा दिनुभयो भने नल्याउन पनि सक्छौँ,’ अध्यक्ष ओलीले भनेका छन् । पार्टीविरुद्ध राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले सांसदलाई गरेको कारबाहीलाई मान्यता दिन ढिलाइ गरेर सभामुख सापकोटाले गैरकानुनी काम गरेको उनको आरोप छ ।

‘राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले सांसद्लाई हामीले कारबाही गरेका थियौँ । तर, त्यसलाई मान्यता नदिएर सभामुखबाट नयाँ पार्टी खोलाउन भूमिका खेल्ने काम भयो । हामीमाथिको अन्यायलाई सम्बोधन गरियोस् भनेर हामीले माग राख्दै आयौँ । तर, यसलाई सम्बोधन गर्न सरकार तयार भएन,’ उनले भने । एमालेले केही समयअघि आफ्ना पार्टीका सांसदलाई दुईवटा खाली कागजमा हस्ताक्षर गराएर राखेको छ । त्यतिबेला सभामुख सापकोटाविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने ब्यापक चर्चा पनि चलेको थियो ।

यसैगरी अध्यक्ष ओलीले एमसीसी सम्झौता संसदबाट पास भइसकेकाले अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्ने पनि बताए । ओलीले एमसीसीलाई विकास परियोजनाका रूपमा लिनुपर्ने बताउँदै यसमा मतभेद, द्वन्द्व सिर्जना गरेर राजनीति नगर्न आग्रह गरे । एमसीसीको विरुद्धमा सडकमा कार्यकर्ता ओरालेर आन्दोलन गराउनु गलत भएको उनको भनाइ थियो ।

प्रकाशित : बुधबार, फागुन १८, २०७८१०:०६

७० प्रतिशत कर्मचारी खराब प्रवृत्तिका, ३० प्रतिशत मात्रै काम र पेसाप्रति जिम्मेवार !