नेपाल माथि चीनको अघोषित नाकाबन्दी !

काठमाडौं । नेपाल र चीनबीचको सम्झौताअनुसार यतिबेला ६ वटा नाका सञ्चालनमा आउनुपर्ने हो । तर, जसोतसो सञ्चालित दुई नाका ‘तातोपानी’ र ‘रसुवागढी’ पनि कहिले खुल्ने त कहिले बन्द हुने अवस्था छ । पछिल्लो समय तातोपानी नाका त बन्द प्रायः नै छ । अर्को नाका रसुवा (केरुङ) बाट पनि दैनिक पाँच÷सात कन्टेनरमात्र आयात भइरहेको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

दुई मुलुकबीच सन् २०१६ मा पारवहन ढुवानी सम्झौता भएको थियो । त्यसलाई कार्यान्वयन गर्न सन् २०१९ को अप्रिल २९ तारिखमा नेपाल–चीन पारवहन ढुवानी प्रोटोकल भयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उक्त सम्झौतापछि ६ वटा नाकामार्फत नेपालले चीनसँग आयात—निर्यात कारोबार गर्न पाउने सुविधा प्राप्त गरेको थियो ।

तर, सिन्धुपाल्चोकस्थित तातोपानी कोदारी–जाङमु र रसुवास्थित केरुङ–रसुवागढीमार्फत मात्र व्यापारिक कारोबार हुँदै आएको छ । तातोपानी र रसुवागढी नाकाबाट पनि नेपालले चाहेअनुसार पर्याप्त मात्रामा द्विपक्षीय कारोबार भने गर्न पाएको छैन् । ‘हामीले चीनसँग आर्थिक कारोबार गर्न हालसम्म ६ वटा नाका पाएका छौं’, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारी भन्छन्, ‘तर, लामो समयदेखि तातोपानी र रसुवागढी नाका पनि व्यवस्थित रूपमा सञ्चालन हुन सकेको छैन् । यस्तो अवस्थामा अन्य नाकाबाट आर्थिक कारोबार गरौंला भनेर तत्कालै विश्वस्त हुने आधार छैन् । पूर्वाधार र सूचारु भएकै नाकामा त कहिले खुल्ने र कहिले बन्द हुने अवस्था छ । अन्य नाकाको कुरै नगरौं ।’

ती अधिकारीका अनुसार नाका सञ्चालन गर्न सरकारको पहल पुगेको छैन भने चीनले पनि चासो देखाएको छैन । यी नाका गुल्जार रूपमा सञ्चालनमा आउन अझै केही वर्ष कुर्नुपर्ने उनको ठम्याइ छ । चीनको सिगात्से जिल्लाअन्तर्गत जाङ्मु–तातोपानी, केरुङ–रसुवागढी र लिजी–नेचुङ् नाका पर्छन् ।

विभिन्न बहानामा अवरुद्ध हुँदै आएका तातोपानी र रसुवागढी नाका अहिले पनि करिब÷करिब ठप्प अवस्थामा छन् । चिनियाँ पक्षले कोभिड—१९ प्रोटोकलको बहानामा कुनै दिन पाँचदेखि आठ त कुनै दिन तीनदेखि ६ कन्टेनर सामानमात्र आयात गर्न दिएको छ । यसले गर्दा नेपाली उद्योगी र व्यापारी निकै अप्ठ्यारोमा परेका छन् ।

अर्बौको लगानी डुवेपछि नेपालका उद्योगी/व्यापारीले पछिल्लो दुई वर्षदेखि प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री, परराष्ट्रमन्त्रीसहित सम्पूर्ण राजनीतिक दलका शिर्षस्थ नेतासम्मलाई हारगुहार गरिसकेका छन् । तर, हालसम्म पनि समस्या समाधान नभएको आयातकर्ता, उद्योगी र व्यापारीहरुको गुनासो छ ।

‘अब त भन्न र बोल्न पनि छाडिसक्यौं । भन्न पनि लाज लाग्न थाल्यो । चीन सरकारले अघोषित रुपमा लगाएको नाकावन्दीका कारण हामी नेपाली व्यवसायी त सडकमै पुगिसक्यौं,’ नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले भने, ‘हाम्रो समस्या समाधान गर्न सरकारले नै चासो देखाएनको छैन ।’

कोभिड सुरु हुनुअघि रसुवा नाकाबाट दैनिक एक सय र तातोपानीबाट भुकम्पअघिसम्म सोही संख्यामा कन्टेनरसहितको सामान आउने गरेकामा हाल तातोपानीबाट दैनिक पाँचदेखि सात र रसुवागढी नाकाबाट सातदेखि आठ कन्टेनर समानमात्र आइरहेको छ ।

नेपाल–चीन व्यापारका लागि तातोपानी मुख्य नाका हो । तर, विभिन्न बहानामा पटक–पटक अवरुद्ध भएपछि त्यसको विकल्पका रूपमा रसुवागढी नाका खुला गरिएको थियो । चीनसँग वार्षिक २० अर्ब रुपैयाँभन्दा बढीको आयात र तीन अर्ब मूल्यबराबरको मालसमान निर्यात हुँदै गरेकोमा पछिल्लो समय चीनतर्फको निर्यात शुन्य अवस्थामा पुगेको छ ।

नेपाल हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष बच्चु पौडेलका अनुसार चीनको ति दुवै नाकामार्फत पर्याप्त मात्रामा कन्टेनर सडक मार्ग हुँदै आउन नपाउँदा नेपाली आयातकर्ता, उद्योगी र व्यापारीको अर्बौ लगानी डुबेको छ । पौडेलकै शब्दमा भन्नुपर्दा चीनले द्विपक्षीय व्यापारमा ‘अघोषित नाकावन्दी’ नै लगाएको छ ।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८०७:१३

फेरि थपियो ७ दिन सार्वजनिक बिदा ! कहिले-कहिले ?