एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनल मेस्सी जेरार्ड पिके क्लबमा रहेसम्म बार्सिलोना नजाने भएका छन्। विभिन्न स्पेनिस मिडियाहरुका अनुसार मेस्सी पिके क्लबमा भएसँगै बार्सिलोना नफर्किने भएका हुन्।
१६ सिजन बिताएपछि गत वर्ष बार्सिलोना छाडेर पिएसजी पुगेका मेस्सी पिके बार्सिलोनामा रहेसम्म नफर्किने एल नेसिओनलले जनाएको छ। स्पेनबाट प्रकाशित हुने यस पत्रिकाका अनुसार पिके रहेसम्म मेस्सी बार्सिलोना फर्किन चाहने छैनन्।
लियोनेल मेस्सी सन् २०२१ को जुलाई लाग्ने बितिकै फ्री एजेन्ट हुँदा बार्सिलोनाले उनीसँग नयाँ सम्झौता गर्न चाहेको थियो। त्यसबेला बार्सिलोनाले नयाँ सम्झौताका लागि भरपुर प्रयास गर्दा पनि सफल हुन सकेको थिएन।
त्यसबेला पिकेले नै बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टालाई मेस्सीलाई अन्यत्र जान दिन आग्रह गरेका थिए। पिकेले मेस्सीलाई बार्सिलोनाबाट जान दिँदा नै राम्रो हुने सुझाव दिएका थिए। पिकेले मेस्सीलाई बार्सिलोनामा राख्नै पर्छ भन्ने कुरा नरहेको बताएको एल नेसिओनलको दावी छ।
पिकेले मेस्सी गए बार्सिलोनाको आर्थिक पक्ष राम्रो हुने पनि बताएका थिए। बताइएअनुसार, पिकेले भनेका ती सबै कुरा मेस्सीलाई थाहा भइसकेको छ। १३ वर्षको उमेर देखि चिनेका पिकेबाट यस्तो व्यवहार भएकोमा मेस्सी धेरै नै दुखि छन्। र उनी अब पिके भएसम्म बार्सिलोना फर्किन चाहँदैनन् भन्ने एल नेसिओनलले आफ्नो समाचारमा उल्लेख गरेको छ।

