एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का खेल निर्देशक लियोनार्डोले किलियन एम्बाप्पेलाई रियल म्याड्रिडबाट टाढा राख्न आवश्यक पर्ने सबै कार्य गर्ने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा लियोनार्डोले एम्बाप्पेलाई रियल म्याड्रिडको पकडबाट टाढा राख्न आफूहरुले सक्दो प्रयास गर्ने बताएका हुन्।
ले इक्विपसँगलाई अन्तर्वार्ता दिनेक्रममा लियोनार्डोले एम्बाप्पेलाई अड्याउन पिएसजीले अन्तिम समय सम्म पनि प्रयास गर्ने र एम्बाप्पेको भविष्य रियल म्याड्रिड विरुद्धको खेलले निर्धारण नगर्ने बताए।
“के हुन्छ म भन्न सक्दिन, तर हामीसँग एम्बाप्पेलाई क्लबमा अड्याउने सम्भावनाहरू छन्। जबसम्म उनले कतै सम्झौता गर्दैनन्, हाम्रो प्रयास जारी रहनेछ। हामी उनलाई यहाँ अड्याउन सम्भव भएको सबै काम गर्ने छौँ। मलाई लाग्दैन कि रियल म्याड्रिड विरुद्धको खेलले उनको भविष्य निर्धारण गर्नेछ।”,लियोनार्डोले भने।
आफूहरुले एम्बाप्पेसँग आर्थिक पक्षहरु बारे यस अगाडी नै छलफल गरिसकेको पनि लियोनार्डोले जानकारी गराए। आर्थिक पक्ष बारे एम्बाप्पे र क्लब बीच कुनै पनि समस्या नरहेको उनको भनाई छ। उनले भने,”हामीले पैसा बारे काम मात्र कुरा गरेका छौँ। किलियन यति मूल्यवान छन् कि उनको अगाडी अरु कुराहरु कम प्राथमिकतामा पर्छन्।”
लियोनार्डोका अनुसार अहिलेको अवस्थामा एम्बाप्पे विश्वकै उत्कृष्ट खेलाडी हुन्। पिएसजी पहिला भन्दा धेरै राम्रो र उत्कृष्ट क्लब भएका कारण एम्बाप्पे त्यहाँ रहन सक्ने सम्भावना रहेको लियोनार्डोको भनाई छ।

