काठमाडौँ – नेपाल प्रहरीले अनुसन्धान भइरहेका विषयहरु बारे अफवाह फैलाउने कार्य नगर्न सबैलाई सूचीत गरेको छ। शुक्रबार नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोले एक सूचना प्रकाशित गर्दै अनुसन्धानका क्रममा रहेका घटनाहरुलाई प्रभावित पार्ने गरी सामाजिक संजाल मार्फत अफवाह नफैलाउन आग्रह गरेको हो।
ब्यूरोले युट्युब, टिकटक लगायतका सामाजिक संजालको दुरुपयोग गरेर गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्धेश्यबाट भ्रामक एवं झुट्टा क्याप्सन राखी भिडियो तथा तस्वीरहरु अपलोड नगर्न आग्रह गरेको छ।
त्यस्तै कार्य गर्नेलाई विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी पनि ब्यूरोले दिएको छ।
“विगत केही समयदेखी विभिन्न व्यक्ति तथा समुहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटक लगायतका सामाजिक संजालहरुमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्धेश्यबाट भ्रामक एवं झुट्टा क्याप्सन राखी भिडियो तथा तस्वीरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने, पिडितको गोपनीयताको हक हनन् गर्दै निजको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने किसिमका प्रवृत्ति देखिएको त्यस्ता क्रियाकलापहरु विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा सूचित गर्दै यस्ता प्रकारका गतिविधी नगर्नु हुन सम्पूर्णमा साइबर व्यूरो अनुरोध गर्दछ ।”,ब्यूरोद्वारा जारी सूचनामा भनिएको छ।

गएको केहि समय देखि पल शाह प्रकरणमा पक्ष र विपक्षमा सामाजिक संजाल मार्फत अनावश्यक अफवाह फैलिरहेको अवस्थामा साइबर ब्यूरोको तर्फबाट यस्तो चेतवानी आएको हो।

