को बन्ला लेवान्डोस्कीको उत्तराधिकारी ? यी हुन् पाँच विकल्प !

एजेन्सी – युरोपेली फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीको प्रभाव घट्दै गर्दा बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीको उदय भयो। लेवान्डोस्की हालको अवस्थामा विश्वकै उत्कृष्ट खेलाडी हुन्। लगातार एक दशक चर्चामा रहेपनि उनले गएका केहि सिजन देखि भने उनले छुट्टै स्तरको खेल प्रदर्शन गरिरहेका छन्।

लगातार दुई पटक सर्वश्रेष्ठ फिफा पुरुष खेलाडी घोषित लेवान्डोस्की सन् २०१४ मा डर्टमण्डबाट आएयता बायर्न म्युनिखका लागि प्रभावशाली रहँदै आएका छन्। तर लेवान्डोस्कीको पनि उमेर ढल्कँदो क्रममा छ। यस्तोमा बायर्नमा उनको उत्तराधिकारी को हुन सक्छ भन्ने प्रश्न उठ्न थालेको छ। यहाँ अहिले उनको उत्तराधिकारी बन्न सक्ने केहि पाँच खेलाडीहरु बारे चर्चा गर्दै छौँ।

लुका जोभिक – रियल म्याड्रिड

सन् २०१९ मा ईन्ट्राक्ट फ्रान्कफर्टबाट ६३ मिलियन युरोमा रियल म्याड्रिड पुगेका जोभिक त्यहाँ मौका पाउन सकिरहेका छैनन्। एक हिसाबले भन्नुपर्दा स्पेन उनलाई फापेन। रियलका लागि ४८ खेल खेल्दा उनले मात्रै ३ गोल गरेका छन्। जर्मनीमा चम्किएर स्पेनमा सेलाउन पुगेका उनको लागि बायर्न राम्रो अवसर बन्न सक्छ। र बुन्डेसलिगामा पहिला उनले गरेको प्रदर्शनलाई हेरेर बायर्नले उनलाई भित्र्याउन सक्छ।

करिम अडेयेमी – आरबी साल्जबर्ग

पूर्व बायर्न म्युनिख युवा खेलाडी र वर्तमान आरबी साल्जबर्ग स्टार करिम अडेयेमी बहुमुखी, छिटो र राम्रो गोल गर्न सक्ने क्षमता राख्छन्। ठ्याक्कै रोबर्ट लेवान्डोस्कीको जस्तो नभएपनि बायर्नमा उनले तहल्का मच्चाउन सक्छन्। सही क्षेत्रमा खटाइयो भने धेरै नोक्सान गर्न सक्ने उनको क्षमता छ। जर्मन फरवार्डले यो सिजन साल्जबर्गका लागि सबै प्रतियोगितामा ३२ खेल खेलेका छन्। जसमा उनले १८ गोल गरेका छन् भने ४ असिस्ट दिएका छन्।

प्याट्रिक शिक – लेभरकुसेन

बुन्डेसलिगामा हालको अवस्थामा लेभरकुसेनका प्याट्रिक शिक लेवान्डोस्कीलाई टक्कर दिरहेका छन्। बुन्डेसलिगाको जारी सिजनमा लेवान्डोस्की पछि यदि कसैले बढी गोल गरेको छ भने ती शिक नै हुन्। लेवान्डोस्कीले २८ गोल गर्दा उनले २० गोल गरिसकेका छन। लेवान्डोस्कीको उत्तराधिकारी बन्ने गुणहरु शिकमा प्रशस्तै देखिन्छ।

लाउटारो मार्टिनेज – इन्टर मिलान

इन्टर मिलानका लाउटारो मार्टिनेज लगातार राम्रो प्रदर्शन गरिरहेका खेलाडी हुन्। गत सिजनमा उनले इन्टर इटालियन च्याम्पियन बन्द महत्वपूर्ण भूमिका निभाएका थिए। उनले त्यसबेला १७ गोल गर्दै १० असिस्ट दिएका थिए। जारी सिजनमा पनि उनले सबै प्रतियोगितामा १२ गोल गर्दै २ असिस्ट दिएका छन्। रोमेलु लुकाकुको बहिर्गमनले उनलाई कम्जोर बनाउने सोचिएपनि उनको प्रदर्शनमा खासै ह्रास आएको छैन। एक परिपक्क खेलाडीको रुपमा विकसित भैरहेका उनी लेवान्डोस्कीको राम्रो उत्तराधिकारी बन्न सक्छन्।

एर्लिङ हालाण्ड

हालको अवस्थामा यदि कुनै पनि खेलाडीसँग लेवान्डोस्कीको उत्तराधिकारी बन्ने सबै भन्दा बढी आधार छन् भने ती हालाण्ड हुन्। डर्टमण्ड आएयता उनले ७९ खेलमा ८० गोल गरिसकेका छन् भने २१ असिस्ट दिसकेका छन्। हालाण्डलाई डर्टमण्डले आउने समरमा बिक्री गर्ने योजना बनाएको छ। यस्तोमा बायर्नले हालाण्डलाई नभित्र्याउला भन्न सकिँदैन।

प्रकाशित : शुक्रबार, फागुन २०, २०७८१९:५३

मार्टिनेजको ह्याट्रिक, इन्टर मिलानको सानदार जित !