एजेन्सी – आउने बुधबार राति च्याम्पियन्स लिगको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले रियल म्याड्रिडको सामना गर्दैछ। पहिलो लेगमा १-० को गोल अन्तरले पराजित गरेको पिएसजी र रियल बीचको खेल रियलको घरेलु मैदानमा हुनेछ।
सो खेलमा रियलका पूर्व खेलाडी सर्जियो रामोस भने उपलब्ध हुने छैनन्। गएको केहि समय अगाडी घाइते भएका उनी रियल विरुद्धको खेलका लागि पनि उपलब्ध नहुने स्पष्ट भइसकेको छ।
पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनो आफैंले रामोस आफ्नो टोलीमा नरहेको बताए। एक पत्रकार सम्मेलनका क्रममा पोचेटिनोले रामोस अहिले आफ्नो टोलीमा नरहेको बताएका हुन्।
टोलीमा नरहेपनि पिएसजीले रियलको सामना गर्दा रामोस सँगै हुने आशा गरे। पिएसजी र रियल बीचको खेल हुँदा रामोस पनि सँगै म्याड्रिड जानेछन् भन्ने उनको आशा छ।
“उनी हाल टोलीको हिस्सा होइनन्। तर यो स्पष्ट छ कि सर्जियो जस्तो खेलाडीको अनुभव पक्कै रियल विरुद्धको खेलमा काम आउनेछ। १७ वर्ष त्यहाँ खेलेका उनले टोलीका साथीहरूलाई धेरै सल्लाह दिन सक्छन्।”,पोचेटिनोले भने।
१७ वर्ष भन्दा बढी समय रियलमा बिताएका रामोसको अनुभव पिएसजीलाई काम आउने पोचेटिनोले बताए। खेल्न नसकेपनि रामोस टोलीसँगै म्याड्रिड जानुपर्ने पोचेटिनोको भनाई छ।
उनले भने,”खेल्न पाए पनि, नपाएपनि उनी म्याड्रिडमा हुनेछन् भन्ने आशा छ। यो आशा अन्य घाइते खेलाडीहरुसँग पनि मलाई छ। यो सबै सँगै हुन पर्ने र सबैले सम्भव भएसम्म योगदान गर्ने क्षण हुनेछ।”

