एजेन्सी – खेलको अन्त्यतिर गोल खान पुग्दा फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) स्तब्ध बनेको छ । पिएसजी घरेलु टोली निससँग १–० ले स्तब्ध बनेको हो ।
बराबरीतर्फ धकेलिएको खेलको निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा वैकल्पिक फरवार्ड एन्डी डेलर्टले गरेको गोलमा पिएसजी स्तब्ध बन्न पुग्यो । एन्डी डेलर्ट ७०औं मिनेटमा कास्पर डोलवर्गको स्थानमा मैदान छिरेका थिए ।
एलिएन रिभिरा निसमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा पिएसजीले बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । अग्रपङ्तिमा लियोनल मेस्सीसँगै नेयमार र एन्जल डि मारिया रहेपनि उनीहरुले निसको बलियो रक्षापङ्तिलाई तोड्न सकेन । प्रतिबन्धका कारण केलियन एमबाप्पे भने टोलीमा थिएनन् ।
यस सिजनको लिग वानमा पिएसजीको यो तेस्रो हार हो । यसअघि पिएसजीले रेनेस र नान्टेससँग हार बेहोरेको थियो । हारसँगै शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ६२ अंक रहेको छ । पिएसजीलाई हराएको निस ४९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

