एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेज एट्लेटिको मड्रिडमा अन्तिम समय बिताइरहेका छन्। त्यहाँ उनको सम्झौता लगभग ६ महिनाको लागि मात्र बाँकी छ। सुआरेज सन् २०२० मा बार्सिलोनाबाट एट्लेटिको पुगेका थिए।
एट्लेटिको लालिगा च्याम्पियन बन्दा सुआरेजले गत सिजन धेरै नै राम्रो प्रदर्शन गरेका थिए। सोक्रममा उनले २३ गोल गरेका थिए भने ३ असिस्ट दिएका थिए। बार्सिलोना र रियल म्याड्रिड जस्ता क्लबलाई पछि पारेर एट्लेटिको च्याम्पियन बन्दा उनको भूमिका धेरै नै महत्वपूर्ण थियो।
तर जारी सिजनमा भने सुआरेजले तयारी राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। जारी सिजनमा उनले लालिगाका कुल २५ खेल खेल्दा ९ गोल गरेका छन् भने ३ असिस्ट दिएका छन्।
स्पेनिस मिडियाहरुका अनुसार सुआरेजले एट्लेटिकोमा सम्झौता थप गर्ने सम्भावना अत्यन्त न्यून छ। सम्झौताको अन्तिम ६ महिनामा रहेका सुआरेजको सम्झौता थप गर्न न त क्लबले चासो देखाएको छ, न त सुआरेज नै सम्झौता थप गर्न इच्छुक देखिन्छन्।
सुआरेजले एट्लेटिको छाड्ने तर स्पेन नछाड्ने
एट्लेटिको छाड्न चाहेको खण्डमा सुआरेजलाई आयक्स, इन्टर मिलानसँग-सँगै ब्राजिलियन क्लबहरुले भित्र्याउन चाहेका छन्। तर सुआरेज भने स्पेन छाड्ने पक्षमा छैनन्। सुआरेज एट्लेटिको छाडेको खण्डमा पनि लालिगामै रहने योजनामा अरहेको स्पेनिस मिडियाहरु बताउँछन्। सुआरेजमा स्पेनिस क्लब सेभियाको समेत नजर रहेको बताइन्छ। यस सिजनको अन्त्यमा सुआरेज एट्लेटिको छाडेर सेभिया जान सक्नेछन्।

