“मेस्सी गएकोमा कुनै पश्चाताप छैन”

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले लियोनेल मेस्सीको बहिर्गमनमा कुनै पछुतो नरहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा लापोर्टाले मेस्सीको बहिर्गमनमा कुनै पनि पश्चाताप नरहेको बताएका हुन्।

मेस्सीले क्लब छाड्नु पर्ने अवस्था आउँदा आफूलाई धेरै दुख लागेपनि त्यसमा कुनै पश्चाताप नरहेको लापोर्टाले बताए। मेस्सीलाई जान दिने निर्णयलाई लापोर्टाले अत्यन्त दुखद निर्णय भने। क्लबको भविष्यलाई ध्यानमा राखेर आफूले मेस्सीलाई जान दिने निर्णय गरेको लापोर्टाको भनाई छ।

“यो सबै भन्दा दुखद निर्णय थियो। म यस्तो निर्णय लिन कहिले पनि चाहँदैनथें। तर मलाई यसमा पश्चाताप पनि छैन। किनभने हामीले क्लबलाई सबै कुरा भन्दा माथि राख्नुपर्ने थियो। हामीले गर्यौं पनि त्यसै। उत्कृष्ट खेलाडी भन्दा माथि क्लबलाई राखेर अगदिउ बढ्यौं। त्यसबेला भएको यहि नै हो।”,लापोर्टाले भने।

खेलाडीहरु आउने जाने प्रक्रिया चलिरहेपनि क्लबको यात्रा भने जारी रहने लापोर्टाले बताए। मेस्सी गएपछिको समय कठिन देखिएपनि बार्सिलोना सफलताको बाटोमा फर्किरहेको लापोर्टाको भनाई छ।

उनले भने,”बार्सिलोनाको इतिहास जारी छ। राम्रो काम र राम्रो सोचका साथ हामी अगाडी बढिरहेका छौँ। राम्रा निर्णयहरुका कारण हामी सफलताको बाटो फर्किन सक्छौं। र हामी त्यहि गरिरहेका छौँ।”

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८०९:३६

फुटबल खेल हेर्न गएका थिए, संसार हेर्ने आँखा नै गुमाउनु पर्यो [भिडियो सहित]