काठमाडौँ उपत्यकाभरी यस्ता ठगको बिगबिगी, भट्टाभट पक्राउ !

काठमाडौँ – जागिर मिलाइदिने नाममा ठगी गर्दै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जब सेन्टर खोलेर ठगी गर्दै आएको एक गिरोहलाई पक्राउ गरेको हो।

उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लगाइदिने भन्दै फारम भर्न लगाएर ठगी गर्दै आएका ९ जनालाई पक्राउ गरिएको महानगरिय अपराध महाशाखाले जनाएको छ।

पक्राउ पर्नेहरुमा छत्रदेव-६ अर्घाखाँचीका २६ वर्षीय अमर पाण्डे, ३२ वर्षीय तिलकराम पाण्डे र दूधपोखरी(२ लमजुङका २२ वर्षीय आनन्द मरहठ्ठा रहेका छन्। सिरहा-१९ का २३ वर्षीय विवेक यादव, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-३ का २८ वर्षीय अश्विन राई, सिन्धुलीको फिक्कल-२ का २२ वर्षीय घनश्याम पहाडीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

यस्तै चन्द्रपुर नगरपालिका-४ रौतहटका २५ वर्षीया सृजना लामिछाने, विराटनगर-४ की ४० वर्षीया ज्ञानु न्यौपाने र रौतहट जिल्ला मौलापुर-५ का २२ वर्षीय रामबचनकुमार यादव पनि ठगीको आरोपमा पक्राउ परेका छन्।

पक्राउ गरिएका मध्ये पाण्डे बानेश्वरको सोसाइटी वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक रहेको बताइएको छ। मरहठ्ठा बालाजुको दूधपोखरी जब प्लेसमेन्ट एन्ड ट्रेनिङ सेन्टर, विवेक यादव कोटेश्वरको एनएन मल्टिप्रपोज प्रालि र राई काठमाडौं–३२ आकाशेपुलस्थित एबीसी जब एन्ड ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक रहेका छन्।

पहाडी कोटेश्वरको सिन्धु रोजगारी सेवा, लामिछाने चाबहिलको प्राश्ना जब इन्टरनेसनल मल्टिप्रपोज प्रालि, न्यौपाने कोटेश्वरको क्विकमान्डु एमपी प्रालि र रामवचन कोटेश्वरकै अनमोल जब मल्टिपल प्रालिका सञ्चालक रहेको महाशाखाले जनाएको छ।

जागिर लगाइदिने बहानामा ठगी गरेको उजुरी परेपछि महानगरीय अपराध महाशाखाको विशेष टोलीले अनुसन्धान क्रममा आइतबार कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरुले सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचार पम्प्लेटका माध्यमबाट ‘घरमै बसीबसी जागिर पाइन्छ’ भनेर प्रचार गर्ने गरेका थिए। उनीहरुले ३ सयदेखि ५ सय रुपैयाँसम्म फाराम शुल्क लिने गरेको प्रहरीको भनाई छ। साथै उनीहरुले जब वारेन्टी शुल्कको नाममा ६ हजार रुपैयाँम्म लिने गरेका थिए।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१५:२७

आले एक्सनमा उत्रिने भएपछि क्यासिनोले बुझाए रु ८७ करोड रोयल्टी !