काठमाडौं । नेपालमा अपराध गरी विदेश फरार भएको आरोप लागेका दुई अभियुक्तलाई लामो समयको सक्रियतापछि नेपाल प्रहरीको इन्टरपोल शाखाको पहलमा पक्राउ गरी नेपाल ल्याइएको छ । यसका लागि नेपाल प्रहरीले लामो समयदेखि सक्रियता देखाउँदै आएको थियो ।
१५ वर्षअघि कास्कीको पोखरामा भएको एक हत्याकाण्डका आरोपीलाई प्रहरीले इन्टरपोलको सहयोगमा बहराइनमा पक्राउ गरी नेपाल ल्याएको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
नेपाल प्रहरीको इन्टरपोल शाखाको पहलमा हत्या आरधोपी अशोक गुरुङलाई मंगलबार नेपाल ल्याइएको हो । सामान्य विवादका क्रममा गुरुङले आफ्नै साथीलाई दाउराको चिर्पटले प्रहार गरी हत्या गरेको आरोप लागेको छ । गुरुङलाई गत मंसिरमै बहराइन प्रहरीले पक्राउ गरे पनि सुपुर्दगी सन्धी नभएका कारण नेपाल ल्याउन समस्या थियो ।
नेपाल प्रहरीको एनसीबी (इन्टरपोल) शाखाको निरन्तर प्रयासपछि गुरुङलाई नेपाल पठाउन बहराइन सहमत भएको हो । गुरुङविरुद्ध कास्की जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा चलिरहेको छ । गुरुङले आपसी विवादका क्रममा २०६३ साल वैशाख २९ गते आफ्नै साथी रोजन राईमाथि दाउराको चिर्पटले आक्रमण गरेका थिए ।
आक्रमणपछि घाइते भएका राईको उपचारकै क्रममा २०६३ साल जेठ २ गते मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङले पोखराको सातमुहाने भन्ने स्थानमा दाउराको चिर्पटले हिर्काएर राईको हत्या गरेको आरोप प्रहरीको छ ।
हत्यालगत्तै गुरुङको संलग्नताबारे केही खुलेको थिएन ।
निरन्तर अनुसन्धान गर्दै जाँदा गुरुङको संलग्नता खुले पनि खोजी गर्दा उनी रोजगारीको सिलसिलामा बहराइन पुगिसकेका थिए । गुरुङ नेपाल नफर्कने देखेपछि प्रहरीले इन्टरपोलमार्फत रेड नोटिस जारी गरेको थियो ।
नेपाल प्रहरीले गत मंसिरमा गुरुङको नाम रेड नोटिसमा हालेपछि बहराइन प्रहरीले गुरुङलाई पक्राउ गरेको जानकारी प्रहरी मुख्यालयका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले दिए । गुरुङलाई लिन एनसीबीको टोली बहराइन पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाका अनुसार घटना अनुसन्धान गर्दा हत्या अरोपीको कुनै हुलिया थिएन । अनुसन्धान गर्दैजाँदा मृतक राईको साथीसंगत र उठवसका मान्छेको खोजतलास गर्दा गुरुङको संलग्नता खुलेको जानकारी एसपी थापाले दिए ।
