१७ मिनेटमै बेन्जेमाले पूरा गरे ह्याट्रिक ! हेर्नुहोस् भिडियो !

एजेन्सी – फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेपछि रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३-१ ले पराजित गरेको छ । यससँगै समग्रमा ३-२ को जितका साथ रियल म्याड्रिडले प्रतियोगिताको क्वाटरफाइनलमा स्थान पक्का गर्यो ।

बुधबार राती रियल म्याड्रिडको घरेलु मैदानमा पिएसजीले अग्रता लिएको थियो । ३९ औं मिनेटमा किलीयन एमबाप्पेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । पहिलो लेगमा १-० को अग्रता लिएको पिएसजीका लागि नेयमारको उत्कृष्ट थ्रु पासमा एमबाप्पेले सुन्दर गोल गरेका थिए ।

दोस्रो हाफमा बेन्जेमाले ह्याट्रिक पूरा गर्दै रियल म्याड्रिडलाई क्वाटरफाइनल यात्रा तय गराए । उनले १७ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेका थिए । ६१ औं मिनेटमा पिएसजीका गोलरक्षक जियानलुइजी डोनारुम्माले गम्भीर गल्ति गरेपछि रियलले त्यसको फाइदा उठाएको थियो । इटालियन गोलरक्षकको कमजोर पासलाई भिनिसियसले नियन्त्रणमा लिँदै दिएको पासलाई बेन्जेमाले गोलमा परिणत गरे ।

७६ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । पिएसजी कप्तान मार्किन्हसको खराब क्लिअरेन्सलाई बेन्जेमाले पहिलो टचमा नै आउटसाइड फुटले गोल गरे । उक्त गोल खाएको एक मिनेटमा नै बेन्जेमाले रियललाई समग्रमा अघि बढाए । लुका मोड्रीचको पासलाई गोलमा परिणत गर्दै बेन्जेमाले ह्याट्रिक पूरा गरे ।

बेन्जेमा च्याम्पियन्स लिगमा ह्याट्रिक पूरा गर्ने सबैभन्दा पाका खेलाडी पनि बने । उनले ३४ वर्ष ८० दिनको उमेरमा ह्याट्रिक प्रहार गरे ।

यस जितसँगै रियलले क्वाटरफाइनलमा स्थान पक्का गर्दा पिएसजी भने राउन्ड अफ १६ बाट बाहिरिएको छ ।

यस्तै अर्को खेलमा म्यानचेस्टर सिटी र स्पोर्टिङ लिस्बनको खेल गोलरहित बराबरीमा सकियो । सिटी समग्रमा ५-० को जितका साथ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रकाशित : बिहिबार, फागुन २६, २०७८०८:३७

बेन्जेमा बने रियल म्याड्रिडको तेस्रो सर्वाधिक गोलकर्ता !