एजेन्सी – फुटबल विश्लेषक ड्यानियल रियोलोले पेरिस सेन्ट जर्मेन(पिएसजी)का ब्राजिलियन स्टार नेयमारको चर्को आलोचना गरेका छन्। च्याम्पियन्स लिगबाट पिएसजी बाहिरिएसँगै ड्यानियल रियोलोले नेयमारको आलोचना गरेका हुन्।
आरएमसी स्पोर्ट्ससँग कुराकानी गर्नेक्रममा रियोलोले नेयमारलाई पिएसजीबाट हटाइनुपर्ने बताए। नेयमार विरुद्ध आक्रामक टिप्पणी गर्दै रियोलोले नेयमार अब फुटबलर नरहेको दावी गरे।
“उच्च स्तरमा खेलकुद भनेको नम्रता र मानसिक बल हो। तर पिएसजी फेसन विक र टिकटकमा गएर तयारी गर्छ।”,पिएसजी माथि पनि रियोलो खनिए। त्यसक्रममा उनले नेयमारलाई ‘जोकर’ भने। नेयमारलाई फुटबल खेलाउने भन्दा पनि फेसन विकमा पठाउने र विश्व पोकर च्याम्पियनसिपमा लैजानुपर्ने रियोलोको भनाई छ।
उनले भने,”नेयमार एक जोकर हो। नेयमारलाई बर्खास्त गर्नुपर्छ। उनी अब फुटबलर रहेनन्। उनलाई फेसन विकमा पठाइनुपर्छ। जुलाईमा विश्व पोकर च्याम्पियनसिपहरू हुँदैछन्, उनलाई त्यहाँ लैजानु पर्छ। उनको लागि त्यही नै ठीक हुन्छ।”
जारी सिजनमा नेयमार त्यति राम्रो लयमा छैनन्। घाइते भएर केहि महिना मैअदन बाहिर रहेका उनी ठीक भएर फर्किँदा पनि सन्तोषजनक प्रदर्शन गर्न सकिरहेका छैनन्। जारी सिजनमा नेयमारले पिएसजीका लागि कुल १९ खेल खेल्दा मात्रै ४ गोल गरेका छन् भने ५ असिस्ट दिएका छन्। च्याम्पियन्स लिगमा त उनले यस वर्ष एक गोल पनि गर्न सकेनन्। च्याम्पियन्स लिगमा कुल ६ खेल खेल्दा उनले मात्रै २ असिस्ट दिए।

