काठमाडौं : वरिपरि कालो प्लास्टिकको बार। टिनले छाएको बार्दली। नागार्जुन–६ रामकोटस्थित डाँडापौवामा ‘ठिंग उभिए’ जस्तो दुईतले सेतो रङको पक्की घर। दोस्रो तलामा कात्तिकदेखि ‘फल्याट’ भाडामा लिएर बस्थ्यो, ६२ वर्षीया इन्दिरामाया प्रधानको पाँच जनाको परिवार। यो समाचार अन्नपुर्णपोस्ट दैनिकमा प्रकाशित छ।
छिमेकीसँग खासै कुराकानी नगर्ने यो परिवारमा सोमबार ‘अकल्पनीय’ दुर्घटना आइपर्यो। परिवारका एक सदस्य सोमबार साँझ मृत भेटिए। चार जना अचेत अवस्थामा। पाँचै जनाले सामूहिक रूपमा विष सेवन गरेको मनमोहन अस्पताल स्रोतले जनाएको छ।
यो घटनापछि छिमेकीको निद्रा खलबलिएको छ। शान्त वातावरण भंग भएको स्थानीयवासी बताउँछन्। सामान्य आर्थिक अवस्था भएको इन्दिरामायाको परिवार गत कात्तिकदेखि डाँडापौवामा बस्न आएको थियो।
६२ वर्षीया इन्दिरामाया, उनका छोरा ३८ वर्षका भीममान, बुहारी ३५ वर्षीया मन्दिरा र नातिनी ११ वर्षीया सुप्रिया अचेत छन्। ३३ वर्षीय सुर्वणमान प्रधान मृत भेटिएका थिए। सुवर्णमान भीममानका दाइका छोरा भएको स्थानीयवासी बताउँछन्।
इन्दिरामायाको परिवारले चारवटा कुकुर पालेको थियो। तिनीहरू प्रायः भुकिरहन्थे। सोमबार बिहानदेखि नै नराम्रोसँग भुकेको छिमेकी मानन्धर स्टोर्सका सञ्चालक राजेश मानन्धरले बताए। साँझसम्म पनि कराउन नछाडेपछि गडबडी भयो कि भनेर शंका लागेको राजेशले सुनाए।
उनले अन्नपूर्ण पोस्ट्सित भने, ‘रात पर्दा पनि कोठामा बत्ती बलेन। मान्छेको कुनै चालचुल पनि देखिएन। त्यसपछि मैले घरबेटीलाई फोन गरेँ।’ राजेशको फोनपछि घरबेटीले इन्दिरामायाका आफन्तलाई फोन गरे।
इन्दिरामायाको परिवार डल्लुबाट अंशबन्डा गरी रामकोट बस्दै आएको थियो। शंका लागेपछि राजेशलगायत स्थानीयवासीले घरको कैंची गेटबाट हेरे। त्यो बेला झ्यालनजिक कोही सुतिरहेजस्तो खुट्टा देखिएको राजेशले बताए। त्यसपछि, प्रहरीलाई खबर गरिएको थियो। प्रहरी घरभित्र पुग्दा सुर्वणमानको ज्यान गइसकेको थियो। चार जना अचेत थिए। ‘त्यो सानी बच्ची (११ वर्षीया सुप्रिया)लाई त मैले नै बोकेर तल झारेको हुँ’, राजेशले भने।
उनका अनुसार प्रधान परिवारका कोही पनि सदस्य छिमेकीसँग कुराकानी गर्दैनथे। सधैं तनावमै भएजस्तो देखिन्थे। कोही सदस्य बिरामी छन् भन्ने सुनेको उनले बताए। ‘उनीहरू यो घरमा सरेको पनि धेरै भएको छैन’, उनले भने, ‘बाहिर कसैसँग बोल्दैनथे।’ तीन महिनाको समयमा भीममान दुई पटक मात्रै राजेशको पसलमा आए। इन्दिरामाया भने अण्डा किन्न बेला–बेला पसल आउजाउ गरेको राजेशले बताए।
सोही घरको तल्लो तल्लामा भाडामा बस्ने कालीमाटीकी चन्द्रा कार्की पनि उक्त परिवार प्रायः अरूसँग नबोल्ने गरेको बताइन्। ‘कहिलेकाहीँ मन्दिरा दिदी बोल्नुहुन्थ्यो,’ कार्कीले भनिन्, ‘प्रेसरमै देखिनुहुन्थो। बिरामीजस्तो।’ उनका अनुसार सानी नानी स्कुल जाँदा–आउँदा बोल्ने गर्थिन्। सुर्वणमान भने कौसीमा निस्केर चुरोट पिउने गरेको देखेको कार्कीले बताइन्। ‘मन्दिराले आमा र भीममान दाइ पनि बिरामी हुनुहुन्छ भनेर सुनाउँथिन्,’ उनले भनिन्।

