एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का लागि यस सिजनको च्याम्पियन्स लिग सकिएको छ। रियल म्याड्रिडको घरेलु मैदानमा ३-१ को हार बेहोरेसँगै पिएसजीका लागि यस सिजनको च्याम्पियन्स लिग सकिएको हो।
च्याम्पियन्स लिगको अन्तिम १६ मा किलियन एम्बाप्पेले बाहेक कसैले पनि गोल गर्न सकेनन्। एम्बाप्पेले दुवै लेगमा गोल गरेका थिए। गएको केहि वर्ष देखि एम्बाप्पे पिएसजीबाट च्याम्पियन्स लिग जित्ने अभियानमा थिए। सम्झौतामा ६ महिना भन्दा कम समय रहेका एम्बाप्पे रियल म्याड्रिडसँगको हार पछि धेरै निराश देखिएका थिए।
यसै बीच एम्बाप्पेले सिजनको अन्त्यसम्म सबै एक भएर खेल्ने प्रण गरेका छन्। सामाजिक संजाल मार्फत एक सन्देश जारी गर्दै एम्बाप्पेले सिजनको अन्तिम खेलसम्म एकताबद्ध र दृढ रहेर खेल्ने बताएका हुन्।
एम्बाप्पेले यसो लेखेका छन् –
कठिन समय। च्याम्पियन्स लिग हाम्रा लागि ठूलो लक्ष्य थियो, तर हामी असफल भयौं। सिजन सकिएको छैन। जे भए पनि हामी सिजनको अन्तिम खेलसम्म एकताबद्ध र दृढ रहनेछौं। हामीलाई साथ दिने र यस यात्रामा सँगै हुने सबैलाई धन्यवाद।
यस सन्देश सँगै एम्बाप्पे यस सिजन मात्रै पिएसजीमा रहने चर्चा शुरु भएको छ। धेरैले एम्बाप्पेको सन्देशलाई सिजनको अन्त्य पछि पिएसजी छाड्ने संकेतको रुपमा लिएका छन्।

