एट्लेटिकोले बार्सिलोनालाई पछि पार्यो, तेस्रो स्थानमा उक्लियो !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । १० खेलाडीमा समेटिएको घरेलु टोली एट्लेटिकोले क्याडिजलाई २–१ ले पराजित गरेपछि बार्सिलोनालाई पछि पारेको हो ।

वान्डा मेट्रोपोलिटानोमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीको जितमा जोआओ फेलिक्स र रोड्रिगो डि पउलले गोल गरे । क्याडिजका अल्भारो नेग्रेडोले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमा नै जोआओ फेलिक्सको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिन सफल भएको थियो । ४०औं मिनेटमा एट्लेटिकोका रेइनिल्डो रातो कार्डबाट बचेका थिए । भिएआरको सहायतामा उनी रातो कार्डबाट बचेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा नेग्रेडोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले अलफन्सो स्पिनोको पासमा गोल गर्न सफल भएका थिए ।

६८औं मिनेटमा रोड्रिगो डि पउलले गोल गर्दै एट्लेटिकोलाई २–१ को अग्रता दिलाए । उनले एन्जल कोरेआको प्रहार रिवाउन्ड हुँदा गोल गर्न सफल भएका थिए । ८८औं मिनेटमा घरेलु टोली एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो ।

८३औं मिनेटमा जोआओ फेलिक्सको स्थानमा मैदान छिरेका जेभिएर सेरानोले एलेक्स फर्नान्डेजलाई फउल गर्न पुगेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा एट्लेटिकोले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

यो जितसँगै तेस्रो स्थानमा उक्लिएको एट्लेटिको म्याड्रिडको २८ खेलबाट ५१ अंक पुगेको छ । एट्लेटिकोले दुई खेल कम खेलेको बार्सिलोनालाई ३ अंकले पछि पार्दा दोस्रो स्थानमा रहेको सेभियासँग ४ अंकले पछि छ । पराजित क्याडिज २४ अंक जोडेर १८औं स्थानमा छ ।

प्रकाशित : शनिबार, फागुन २८, २०७८०८:५२

सलाहलाई रोनाल्डो जति पारिश्रमिक चाहियो, तर लिभरपुलले दिन मानेन !