एजेन्सी – चोटका कारण म्यानचेस्टर डर्बी गुमाएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो शनिबार टोटेनहम हट्सपरविरुद्ध खेल्न तयार भएका छन् ।
कार्यवाहक प्रशिक्षक राल्फ राग्निकले खेलको पूर्वसन्ध्यामा बोल्दै रोनाल्डो खेलका लागि उपलब्ध भएको जानकारी दिए ।
‘रोनाल्डोले हिजोबाट प्रशिक्षण सुरु गरेका छन् । उनले पूर्ण सेसनमा सहभागिता जनाएका छन् । आज हुने प्रशिक्षणमा पनि सहभागी हुने अपेक्षा छ,’ शुक्रबार प्रशिक्षणअघि राग्निकले भने ।
गत साता भएको म्यानचेस्टर डर्बीमा रोनाल्डो अनुपस्थित रहेका थिए । युनाइटेडले ४-१ को फराकिलो हार बेहोरेको उक्त खेलमा रोनाल्डो घाइते भएका कारण खेल्न नसकेको राग्निकले बताएका थिए । तर बेलायती संचारमाध्यमले रोनाल्डो सुरुवाती ११ मा नपरेको कारण प्रशिक्षकसँग असन्तुष्ट रहेको जनाएका थिए । रोनाल्डोकी वहिनी काटिया अभेइरोले पनि रोनाल्डो घाइते नभएको भन्ने आशयको पोस्ट लाइक गरेकी थिइन् ।
त्यसो त रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि पछिल्लो १० खेलमा मात्र १ गोल गरेका छन् । रोनाल्डो हाल युनाइटेडमा खुसी नरहेको भन्ने प्रश्नमा राग्निकले आफूलाई थाहा नभएको बताए ।
‘मलाई थाहा छैन । मैले उनलाई यहाँ खुसी छौ भनेरो सोधेको पनि छैन । मलाई मात्र यो महत्त्वपूर्ण छ की उनी फिट छन् वा छैनन् । उनले प्रशिक्षण सुरु गरेका छन् । अब हामी भोलि कुन रणनीति र कसलाई खेलाउने भन्नेमा मात्र ध्यान दिनेछौं,’ राग्निकले भने ।

