बालोन डी’ओरबाट नेपाल आउट, अब नेपालले भोट हाल्न नपाउने !

एजेन्सी – फिफा बरियतामा पछि रहँदै आएका नेपाल जस्ता देशहरुको बालोन डी’ओरमा प्रतिनिधित्व नरहने भएको भएको छ। फ्रान्स फुटबल म्याक्जिनले बालोन डी’ओर अवार्ड प्रदान गर्ने विभिन्न प्रक्रियामा परिवर्तन गरेसँगै फिफा वरियतामा पछि रहँदै आएका नेपाल जस्ता धेरै देशहरुले निर्णायकको भूमिका निभाउन नपाउने भएका हुन्।

फ्रान्स फुटबल म्याक्जिनले बालोन डी’ओर अवार्डका लागि मतदान गर्ने निर्णायकहरूको सङ्ख्या घटाउने निर्णय गरेको छ। अब बालोन डी’ओरको निर्णायक भूमिकामा विश्वभरका सबै देश हुने छैनन्।

यस अगाडी विश्वका १ सय ७० देशका प्रतिनिधिहरूले निर्णायकको भूमिका निभाउने गरेका थिए। तर अब भने पुरुष बालोन डी’ओरका लागि सय प्रतिनिधिहरूले निर्णायकको भूमिका निभाउनेछन् भने महिना बालोन डी’ओरका लागि मात्रै ५० प्रतिनिधिहरुले निर्णायकको भूमिका निभाउनेछन्।

परिवर्तित नियमका अनुसार अब निर्णायक फिफा वरियताका आधारमा छनोट हुनेछन्। फिफा वरियताको शिर्ष १ सय भित्र रहेका देशका प्रतिनिधिले पुरुष बालोन डी’ओरका लागि भोट गर्नेछन् भने महिना बालोन डी’ओरका लागि फिफा वरियताको शिर्ष ५० मा रहेका देशका प्रतिनिधिले निर्णायकको भूमिका निभाउनेछन्।

फुटबल कम प्रख्यात भएका देशहरुका निर्णायकहरुका कारण बालोन डी’ओरको नतिजामा फरक प्रभाव परेको निष्कर्ष सहित निर्णायकको संख्या घटाउने निर्णय गरिएको हो। फुटबल बारे कम जानकारी राख्ने व्यक्तिहरुका कारण नतिजामा नकारात्मक प्रभाव परेको फ्रान्स फुटबलको निष्कर्ष रहेको छ।

नियम परिवर्तन भएसँगै हाल फिफा वरियताको १ सय ६७ औं स्थानमा रहेको नेपालको तर्फबाट बालोन डी’ओरमा प्रतिनिधित्व रहनेछैन। त्यस्तै भारत पनि सो प्रक्रियामा सहभागी हुन पाउने कम सम्भावना छ। हालको अवस्थामा भारत फिफा वरियताको १ सय ४ औं स्थानमा छ।

प्रकाशित : शनिबार, फागुन २८, २०७८१८:०९

हालाण्ड फुत्किने भएपछि लेवान्डोस्की माथि बार्सिलोनाको नजर !