काठमाडौं । सरकारले नयाँ वर्षअगावै अस्थायी रूपमा भए पनि काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउने गरी निर्माण कार्य अघि बढाएको छ । बाढीले क्षति पु-याएको भागमा पुनर्निर्माण जारी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाउँदै अस्थायी रूपमा भए पनि नयाँ वर्ष अघि नै काठमाडौं उपत्यकामा पानी ल्याउने तयारी भइरहेको जनाएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
गत १ असारको बाढी पहिराले ठूलो क्षति पुगेपछि त्यसयता काठमाडौं उपत्यकाका बासिन्दाले मेलम्चीको पानी पिउन पाएका छैनन् ।
मेलम्ची खानेपानी आयोजनाको क्षति पुगेको ठाउँमा चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुंगा विस्फोट गराएर नदी सफाइ गर्ने काम गर्दै आएको छ । समितिले हालसम्म पुनर्निर्माण गर्ने काम ६० प्रतिशत सकिएको जनाएको छ ।
मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले चैतभित्र काठमाडौं उपत्यकामा अस्थायी रूपमा भए पनि पानी लैजाने तयारीमा आफूहरू पुगेको बताए ।
उनका अनुसार, आगामी चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिक रूपमा वितरण गर्ने समितिको लक्ष्य रहेको तर वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहेको छ ।
अहिले अस्थायी रूपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची नदीको गेट नम्बर १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले त्यसलाई केन्द्रित गरेर मर्मतको काम गरिएको छ ।
समितिले गेट नम्बर ३८ मा हाइड्रोलिक सिस्टम बिग्रिएकाले त्यसमा थप मर्मतको काम सुरु भएको जनाएको छ ।
मुहानमा खसेका ढुंगा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौं पठाउने समितिको तयारी रहेको छ ।
मुख्य प्रवेशमार्गमै ठूलो पहिरो गएकाले एसियन विकास बैंक (एडिबी)ले पहिरो रोकथामका लागि अध्ययन गरिरहेको समितिले जनाएको छ ।
सुरुङमा थुपारिएको ६० हजार मेट्रिक टन ग्रेगान माटो हटाइसकिएको समितिले जनाएको छ । कुँवरका अनुसार सुरुङमा थुुपारिएको ६० हजार मेट्रिक टन गेग्रान माटो हटाइसकिएको छ । ब्लास्टिङको काम अन्तिम चरणमा पुगेको छ । ब्लास्टिङबाट निस्केको गेग्रान माटो बाटो बनाउन र डम्पिङ गरेर व्यवस्थित गरिएको छ ।

