मेस्सी अर्को वर्ष बार्सिलोना फर्किने, त्यसपछि अमेरिका जाने !

एजेन्सी – पत्रकार सेबास्टियन क्वाडरेलीका अनुसार पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार लियोनेल मेस्सी अर्को वर्ष बार्सिलोना फर्किन सक्नेछन्। पिएसजीमा खासै राम्रो प्रदर्शन गर्न नसकिरहेका मेस्सी क्याटलान क्लब बार्सिलोना फर्किन सक्ने सम्भावना रहेको क्वाडरेलीले बताएका हुन्।

अमेरिकन मेजर लिग सकर(एमएलएस) जानु अगाडी मेस्सी बार्सिलोना फिर्ता हुने क्वाडरेलीको भनाई छ। सन् २०२३ मा बार्सिलोना फिर्ता भएर त्यसको एक वर्ष पछि मेस्सी एमएलएस जान सक्ने क्वाडरेली दावी गर्छन्।

यसै सिजन बार्सिलोनाबाट पिएसजी पुगेका मेस्सी जारी सिजनमा खासै राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। मेस्सीले पिएसजीका लागि २६ खेल खेलिसकेका छन्। यसबीचमा उनले मात्रै ७ गोल गरेका छन्।

राम्रो प्रदर्शन गर्न नसकेपछि पेरिसमा मेस्सीको आलोचना भइरहेको छ। आलोचना बढ्दै जाँदा मेस्सीले पिएसजी छाड्न सक्ने सम्भावना पनि बढ्दै गएको छ। मेस्सी च्याम्पियन्स लिग जित्न पिएसजी पुगेको भएपनि यस सिजनको लागि सो सम्भावना टरिसकेको छ।

मेस्सीमाथि इन्टर मियामीको नजर रहेको छ। पिएसजीका पूर्वखेलाडी रहेका डेभिड बेकह्याम सो क्लबका सह-मालिक हुन्। उनले विभिन्न अवसरहरुमा मेस्सी जस्ता खेलाडीलाई भित्र्याउन आफूहरुले चाहने बताउँदै आएका छन्।

प्रकाशित : सोमबार, फागुन ३०, २०७८१०:३३

“एम्बाप्पेले पिएसजीका लागि धेरै गरेका छन्, उनलाई धन्यवाद दिएर जान दिनुपर्छ”