दोस्रो स्थानमा बार्सिलोनाको नजर, तेस्रो स्थानमा उक्लियो !

एजेन्सी – सानदार जित निकाल्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा बार्सिलोनाले ओसासुनामाथि ४–० को फराकिलो जित निकालेको हो ।

नोउक्याम्पमा आइतबार राति भएको खेलमा बार्सिलोनाको फराकिलो जितमा फेरान टोरेसले दुई तथा पिएरे इमरिक औवामियाङ र रिकी पुचले समान एक गोल गरे । बार्सिलोनाले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल थप्दै सहज जित पक्का गरेको थियो ।

घरेलु मैदानमा बार्सिलोनाले खेलको १४औं मिनेटमा फेरान टोरेसको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । पाब्लो गाभीमाथि नाँचो भिडालले फउल गर्न पुगेपछि रेफ्रीले पेनाल्टी प्रदान गर्दा इंग्लिस क्लब म्यानचेस्टर सिटीका पुर्व फरवार्ड चुकेनन् ।

२१औं मिनेटमा टोरेसले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले औसमाने डेम्वेलेको पासमा गोल थर्न सफल भएका थिए । २७औं मिनेटमा डेम्वेलेकै पासमा पिएरे इमरिक औवामियाङले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ३–० ले अघि बढाए ।

७५औं मिनेटमा परिवर्तित रिकी पुचले गोल गर्दै बार्सिलोनाको फराकिलो जित पक्का गरे । ७३औं मिनेटमा पेड्रीको स्थानमा मैदान छिरेका रिकीले मैदान प्रवेश गरेको दोस्रो मिनेटमै गोल गर्न सफल भएका थिए ।

यो जितसँगै तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाको २७ खेलबाट ५१ अंक पुगेको छ । समान ५१ अंक भएपनि एक खेल बढी खेलेको एट्लेटिको म्याड्रिड पछि परेको छ । बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडभन्दा १२ अंकले तथा दोस्रो स्थानको सेभियाभन्दा ५ अंकले पछि छ । पराजित ओसासुना २८ खेलबाट ३५ अंक जोडेर ११औं स्थानमा यथावत रहेको छ ।

प्रकाशित : सोमबार, फागुन ३०, २०७८०९:२७

२४ घण्टा पनि टिकेन युनाइटेडको खुशी, आर्सनल चौंथो स्थानमा !