एम्बाप्पे र रियल बीच जनवरीमै सम्झौता भएको खुलासा, मिती नै बाहिरियो !

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले गएको जनवरीमै स्पेनिस महारथी रियल म्याड्रिडसँग अग्रिम सम्झौता गरिसकेको दावी गरिएको छ। पत्रकार रामोन अल्भारेज डे मोनले रियल र एम्बाप्पे बीच जनवरीमै अग्रम सम्झौता भैसकेको दावी गरेका हुन्।

अल्भारेजका अनुसार एम्बाप्पे र रियल बीच जनवरी ३० मै सम्झौता भएको थियो। एम्बाप्पेका प्रतिनिधि र रियल म्याड्रिडका अधिकारीहरु बीच जनवरी ३० मै सम्झौता भएपछि त्यसलाई गोप्य राख्न भनिएको अल्भारेजको दावी छ।

अहिले आएर सो सम्झौता बारे कुरा बाहिर ल्याउन अनुमति पाएपछि सो कुरा सार्वजनिक गरेको उनको भनाई छ। एम्बाप्पे र रियल बीच सम्झौता भएलगतै आफूले जानकारी पाएको अल्भारेज बताउँछन्।

उनी भन्छन्,”मसँग एमबाप्पेले ३० जनवरीमै रियल म्याड्रिडसँगको सम्झौतामा हस्ताक्षर गरेको जानकारी थियो। तर त्यसबेला मलाई सो कुरा सार्वजनिक गर्न अनुमति दिइएन। तर अहिले सो कुरा बाहिर ल्याउन मैले अनुमति पाएको छु।”

पिएसजीमा एम्बाप्पेको सम्झौता यहि सिजनको अन्त्य सम्मका लागि मात्रै छ। उनी जनवरीबाट नै विश्वका जुन सुकै क्लबसँग सम्झौता गर्न खुला भइसकेका छन्। त्यसयता पिएसजीले एम्बाप्पेलाई विभिन्न प्रस्तावहरु गरिरहेको छ। यधपी एम्बाप्पेले कुनै पनि प्रस्तावलाई स्वीकार गरेका छैनन्।

गएको केहि समय देखि एम्बाप्पे र रियल बीच सम्झौता भइसकेको चर्चा चलिरहेको छ। यस बीचमै अल्भारेजबाट रियल र एम्बाप्पे बीच एम्बाप्पेका वकिलको उपस्थितिमा सम्झौता भैसकेको दावी आएको हो।

प्रकाशित : सोमबार, फागुन ३०, २०७८१९:४५

“सलाह मेस्सी र रोनाल्डोका मिश्रण हुन्, उनीसँग दुवैका गुण छन्”