“सलाह मेस्सी र रोनाल्डोका मिश्रण हुन्, उनीसँग दुवैका गुण छन्”

एजेन्सी – आर्सनलका पूर्व प्रबन्धक आर्सेन वेङ्गरले लिभरपुलका स्टार फुटबलर मोहम्मद सलाह लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको मिश्रण रहेको बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा वेङ्गरले सलाह मेस्सी र रोनाल्डो दुवैको मिश्रण रहेको बताएका हुन्।

बेइन स्पोर्ट्ससँग कुराकानी गर्नेक्रममा वेङ्गरले सलाहमा मेस्सी र रोनाल्डो दुवैका गुण रहेको बताए। सलाहसँग बल लिएर दौडिने मात्र नभई फिनिसिङमा पनि उत्तिकै राम्रो भएको वेङ्गरको भनाई छ। सलाह पछिल्ला वर्षहरुमा गोल गर्ने क्षमतालाई झनै सुधारेको उनले बताए।

“सलाह मेस्सी र रोनाल्डो दुवैका मिश्रण हुन्। उनीसँग दुवैका गुणहरु छन्। उनी बलसँगै दौडिन सक्छन् र अन्तिम बल पनि दिन सक्छन्। फिनिसिङमा पनि उनले धेरै राम्रो गरिरहेका छन्।”,वेङ्गरले भने।

लिभरपुलले सलाहलाई कुनै पनि हालतमा क्लबमा अड्याउनु पर्छ भन्ने पक्षमा वेङ्गर छन्। वेङ्गरका अनुसार लिभरपुलले सलाहलाई साताको ४ लाख पाउण्ड दिएर भएपनि क्लबमा राख्नु पर्छ। सलाहको मेडिकल रेकर्डले पनि उनी कुन स्तरका खेलाडी हुन् भन्ने स्पष्ट पारें वेङ्गर बताउँछन्। अन्तर्वार्ताका क्रममा उनले सलाहले खासै खेलहरु नगुमाउने गरेको तथ्यलाई पनि उल्लेख गरे।

सलाहको लिभरपुलसँगको सम्झौता सन् २०२३ को मध्य सम्मको लागि मात्रै छ। यस्तोमा लिभरपुलले अहिले देखि नै सलाहको सम्झौता थप गर्न चाहेको छ। तर सलाहले उच्च पारिश्रमिक माग गरेपछि लिभरपुल समस्यामा परेको छ।

सलाहले माग गरेजति पारिश्रमिक दिन लिभरपुल तयार छैन र सलाह पनि लिभरपुलबाट प्रस्ताव भएजति पारिश्रमिक स्वीकार गर्न सक्ने अवस्थामा छैनन्। जसकारण उनले लिभरपुल छाड्न सक्ने सम्भावना समेत बढ्दै गएको छ।

प्रकाशित : सोमबार, फागुन ३०, २०७८२१:४२

सिटी क्रिस्टल प्यालेससँग रोकियो, लिभरपुल मालामाल !