काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर नेकपा एमालेका नेता डा. भीमबहादुर रावलप्रति कडा आक्रोश पोखेका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
किस्पाङ गाउँपालिका भवनको उद्घाटन गर्न नुवाकोट पुगेका देउवाले नेता रावलप्रति आक्रोश पोख्दै उनले ‘दुई जिब्रे’ कुरा गरेको आरोप लगाए । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमालेको सरकार र रावल मन्त्री भएकै समयमा एमसीसी संसदमा दत्र्ता गरिएकाले अहिले आएर त्यसको विरोध गर्नको कुनै तुक नभएको धारणा ब्यक्त गरे
‘आफ्नै सरकार हुँदा मन्त्रिपरषद्बाट पास गरेर संसदमा दत्र्ता गर्दा त्यसबेला एमसीसीको विरोध किन गर्नुभएन । त्यतिबेला उहाँ (भीम रावल) ले के हेरेर बस्नुभएको थियो ?’ आक्रोशित रुपमा प्रस्तुत भएका प्रधानमन्त्री देउवाले भने, ‘अहिले किन विरोध गर्नुहुन्छ ? विरोध गर्ने भए त्यसेबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्ने थियो ।’
देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको एमसीसी प्रस्तावलाई नै आफुले पारित गरेको बताउँदै भने, ‘मैले एमसीसी पास गर्दा भीमबहादुर रावललाई किन टाउको दुख्ने ?’ एमसीसी प्रस्ताव प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भइसकेको छ ।
संसदबाट एमसीसी पारित हुँदा पनि नेता रावलले त्यसको चर्को विरोध गरेका थिए । उनले संसदमा सभामुखसँग समय लिएरै एमसीसीको विरोध गरेका थिए । रावलले एमसीसीका थुप्रै प्रावधान राष्ट्रिय हित विपरीत रहेको दाबी गर्दै आएका छन् ।
‘भीम रावल नै एमसीसीको सबैभन्दा बढी विरोधमा हुनुहुन्छ । आफु मन्त्री हुँदा र आफ्नै दलले संसदमा दत्र्ता गराउँदा उहाँ के हेरेर बस्नुभएको थियो ? त्यतिबेला भीम रावलको दिमाग खुस्किएको थियो ? अहिले आएर विरोध गर्न लाज लाग्दैन ? लाज भए त दुई जिब्रे कुरा नै गर्नुहुन्थेन ।’
संसदबाट एमसीसी प्रस्ताव वहुमतले पारित भइरहँदा रावलको दल एमालेले भने त्यसको विरोध गरेको थिएन । बरु आफ्ना विभिन्न माग पूरा नभएको भन्दै एमालेले संसद अवरोध गरेको थियो । आफुले कारवाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई निलम्बन गर्नुपर्ने लगायतका मागसहित एमालेले गत भदौ २३ गतेदेखि नै संसदमा अवरोध गर्दै आएको छ ।
यसैबीच, नुवाकोटमै आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थानीय निकायको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए । ‘देश अहिले स्थानीय निकायको निर्वाचनको संघारमा छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्व छ,’ प्रधानमन्त्रीले भने ।
यसैबीच, प्रधानमन्त्रीले आफुविरुद्घ आक्रोश पोखेपछि सोमबार नै रावलले पनि प्रधानमन्त्रीलाई जवाफी प्रहार गरेका छन् । रावलले सामाजिक सञ्चाल ट्वीटरमा आफ्नो नभई प्रधानमन्त्रीकै दिमाग खुस्किएको ट्वीट गरेका छन् ।
‘म केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षमन्त्री थिएँ, प्रधानमन्त्री ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला होइन । अतः मेरो सहमति रहेको भन्ने कुरै रहेन’, रावलले भनेका छन्, ‘यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रधानमन्त्रीको या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरुद्घको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ ।’

