फेरी पनि चम्किए बेन्जेमा, दुई गोलसँगै एक असिस्ट दिएपछि रियलको जित !

एजेन्सी – कप्तान करिम बेन्जेमाले दुई गोलसँर्ग एक असिस्ट दिएपछि शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ । रियलले मलोर्कालाई उसकै मैदानमा ३–० को जित निकालेको हो ।

मलोर्कामा सोमबार राति भएको खेलमा रियलको जितमा एक गोल ब्राजिली भिनिसियस जुनियरको नाममा रह्यो । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको रियलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

खेलको छैटौं मिनेटमा टोनी क्रुस र भिनिसियस जुनियरको समन्वयमा बनेको मुभमा करिम बेन्जेमाको प्रहारलाई रियल मलोर्काका गोलरक्षक सर्जियो रिकोले बचाए । ११औं मिनेटमा भेडाट मुरिकीले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न सकेन । २७औं मिनेटमा इड्रिससु बाबाको प्रयासलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले विफल पारे ।

४१औं मिनेटमा बेन्जेमाको पासमा टोनी क्रुसको प्रयास सफल हुन सकेन । ५५औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए । फेडे भाल्भेर्डेबाट बल खोस्ने क्रममा बाबाले आफ्नो पोजिसन गुमाएपछि बेन्जेमाले बल भेट्दै दिएको पासमा भिनिसियले कुनै गल्ती गरेनन् । जारी सिजनको ला लिगामा उनको यो १४औं गोल हो । उनले ६ असिस्ट दिइसकेका छन् ।

६०औं मिनेटमा ड्यानी रोड्रिग्वेजको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिदा मलोर्का बराबरीबाट चुक्यो । ७७औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । बेन्जेमाको कटब्याकमा भिनिसियसले प्रहार गर्न खोज्दा ब्रिएन ओलिभनले भिनिसियसमाथि फउल गर्न पुगेपछि रियलले पेनाल्टी पाएको थियो । जसमा बेन्जेमा चुकेनन् ।

८२औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गदै रियललाई सहज जित दिलाए । परिवर्तित खेलाडी मार्सेलोको उत्कृष्ट क्रसलाई बेन्जेमाले हेडरमार्फत गोल गर्न सफल भएका थिए । यो सिजनको ला लिगामा यो उनको २२औं गोल हो । उनले ११ असिस्ट दिइसकेका छन् ।

यो सानदार जितसँगै रियलले शीर्षस्थानमा १० अंकको स्पष्ट अग्रता बनाएको छ । रियलको २८ खेलबाट ६६ अंक पुगेको छ । समान दखेलबाटै दोस्रो स्थानको रहेको सेभियाको ५६ अंक छ । पराजित मलोर्का २६ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

प्रकाशित : मङ्गलबार, चैत ०१, २०७८०९:५७

जाभीले भने – ‘औवामियाङ हाम्रो लागि आकाशबाट झरेको एक शानदार उपहार’