डी मारियाले पिएसजी छाड्ने, उनको ठाउँमा पिएसजीले बार्सिलोनाका यी खेलाडी उछिट्याउने !

एजेन्सी – सन् २०१५ मा पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका अर्जेन्टिनी स्टार एन्जेल डी मारियाको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदै छ। सम्झौता सकिने समय आउँदा सम्म पनि पिएसजीको तर्फबाट कुनै ठोस प्रस्ताव भएको छैन। एक वर्ष सम्झौता थप गर्न सक्ने व्यवस्था भएपनि पिएसजीको तर्फबाट कुनै प्रस्ताव नहुँदा उनले आउने ट्रान्सफर विन्डोमा क्लब छाड्न सक्छन्।

पिएसजीमा रहने अवस्था नभएको खण्डमा डी मारिया अन्यत्र जानेछन्। उमेरले ३४ वर्ष पुगिसकेको भएपनि डी मारियासँग फुटबल खेल्न अझै केहि वर्ष बाँकी छ। पछिल्लो खबरका अनुसार उनलाई इटालियन क्लब इन्टर मिलानले भित्र्याउन चाहेको छ।

डी मारियाले क्लब छाड्ने दिन नजिकिँदै गर्दा पिएसजी पनि उनको ठाउँ लिने खेलाडीको खोजिमा जुटेको छ। पिएसजीले डी मारियाको स्थानमा हाल बार्सिलोनामा रहेका विंगर ओस्मान डेम्बेलेलाई ल्याउने योजना बनाइरहेको छ।

डेम्बेलेको बार्सिलोनामा यहि सिजनको अन्त्य सम्मका लागि मात्र सम्झौता छ। यस सिजन पश्चात उनी फ्री ट्रान्सफरका लागि उपलब्ध हुनेछन्। बार्सिलोनाले डेम्बेलेलाई सन् २०१७ मा १ सय ४५ मिलियन युरो भन्दा बढी रकम तिरेर भित्र्याएको थियो। तर आउने ट्रान्सफर विन्डोमा पिएसजीले डेम्बेलेलाई सित्तैमा भित्र्याउन पाउनेछ।

बार्सिलोनाले डेम्बेलेलाई गएको धेरै समय देखि सम्झौता थप्न विभिन्न प्रस्तावहरु गरिरहेको छ। बार्सिलोना तर्फबाट भएका कुनै पनि प्रस्तावमा डेम्बेले सहमत हुन सकेका छैनन्।

प्रकाशित : मङ्गलबार, चैत ०१, २०७८२१:२२

उडायो युनाइटेडको सबै सपना एटलेटिकोले !