एजेन्सी – मिडफिल्डर क्रिस्टियन एरिक्सन युरो २०२० को दौरान ह्रदयघात भएयता पहिलो पटक डेनमार्कको राष्ट्रिय फुटबल टोलीमा समावेश भएका छन् ।
युरो अन्तर्गत समूह चरणमा फिनल्याण्डको सामना गर्दा एरिक्सनलाई हृदयघात भएको थियो । त्यसपछि शल्यक्रिया गर्दै मुटुमा इम्प्लान्टेड कार्डियोभर्टर डेफी ब्रिलेटर (आइसिडी) नामक विशेष उपकरण जडान गरेर एरिक्सन मैदान फर्किएका थिए । उनलाई प्रिमियर लिगको ब्रेन्टफर्डले अनुबन्ध गरेको थियो । मैदान फर्केपछि एरिक्सनले प्रभावशाली प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पुनरागमन गर्ने आधार बनाएका हुन् ।
डेनमार्कले अर्को साता हुने मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्स र सर्बियाको सामना गर्दैछ । त्यसअघि टोलीले स्पेनमा रहेर प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । डेनमार्कले सन् २०२२ को अन्त्यमा हुने फिफा विश्वकपमा स्थान पक्का गरिसकेको छ । समूहको १० खेलमा २७ अंकसाथ डेनमार्क शीर्षस्थानमा रहेको थियो ।
एरिक्सनले आफू विश्वकपमा खेल्ने इच्छा व्यक्त गरेका थिए । इटालीमा आइसिडी जडान गरेर खेल्न नपाउने प्रावधान रहेकाले इन्टर मिलानले उनलाई आपसी सहमतिमा फुकुवा गरेको थियो । त्यसपछि उनी ६ महिनाका लागि ब्रेन्टफर्डसँग अनुबन्धित भएका थिए ।

