एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको बहिर्गमन पछि क्याटलान क्लबमा नसोचेको संकट आइलाग्यो। मेस्सी गएपछि बार्सिलोना यति धेरै कम्जोर भयो कि उसलाई साना भन्दा साना टोलीले पनि हराउन थाले। हार र बराबरीको शृंखला चलिरहँदा बार्सिलोना उपाधि होडबाट मात्र बाहिर देखिएन, च्याम्पियन्स लिग छनौटको दौडबाट पनि बाहिर देखियो।
लगातारको कम्जोर प्रदर्शनपछि बार्सिलोनाले तत्कालिन प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेर उनको ठाउँमा क्लबका पूर्व खेलाडी जाभी हर्नान्देजलाई नियुक्त गर्यो। जाभी आएलगतै बार्सिलोनाको प्रदर्शनमा क्रमिक सुधार देखियो।
जाभी आएयता बार्सिलोनाले कमै मात्र नराम्रो प्रदर्शन गरेको छ। जाभी नोभेम्बरको पहिलो साता प्रशिक्षकको रुपमा नियुक्त भएका थिए। त्यसयता बार्सिलोनाले एक दर्जन भन्दा बढी खेलहरु खेलिसकेको छ। जसमा धेरै जस्तो खेलहरुमा बार्सिलोना विजयी भएको छ।
जाभी आएपछि खेलेका १५ लालिगा खेलमा बार्सिलोना मात्रै एक पटक हारेको छ। यसबीचमा बार्सिलोनाले १० जित निकालेको छ भने ४ खेलमा बराबरी खेलेको छ। जाभी आएपछि मात्रै बार्सिलोनाले लालिगामा ३३ गोल गरेको छ भने मात्रै ९ गोल बेहोरेको छ।
जनवरी ट्रान्सफर विन्डो पश्चात त बार्सिलोना झनै राम्रो टोली देखिएको छ। जाभीकै मागमा बार्सिलोनाले जनवरीमा पिएरे इमरिक औवामियाङ, फेरान टोरेस र एडामा ट्राओरेलाई भित्र्याएको थियो। यी तीन खेलाडीको आगमनले बार्सिलोनालाई झनै बलियो बनाएको छ।
बार्सिलोना लालिगामा १२ खेल देखि अपराजित छ। सबै प्रतियोगिताको कुरा गर्ने हो भने बार्सिलोना १० खेल देखि पराजित भएको छैन।

