मेस्सी र नेयमारलाई लखेट्ने मुडमा पिएसजी समर्थक !

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरीएपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुन: एकपटक उपाधिबाट बन्चित भयो । यसै उपाधि जित्ने लक्ष्यसहित केहि वर्षयता मोटो रकम खर्चिरहेको क्लब यसपटक पनि त्यसमा सफल हुन सकेन ।

रियल म्याड्रिडविरुद्ध समग्रमा २-० को अग्रता लिएपनि फरवार्ड करीम बेन्जेमाले १७ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेपछि पिएसजी ३-२ ले पराजित भएको थियो । उक्त खेलमा यसै सिजन क्लब भित्रिएका सुपरस्टार फरवार्ड लिओनेल मेस्सीको प्रदर्शन बिर्सनलायक थियो । फरवार्ड किलियन एमबाप्पेले दुवै लेगमा गोल गरेपनि नेयमारले सन्तोषजनक प्रदर्शन मात्र गर्न सके ।

च्याम्पियन्स लिगको पिडा भुलाउन पिएसजी आइतबार घरेलु लिगमा बोर्डोविरुद्ध उत्रने तयारीमा थियो । खेलअघि टोलीको सुरुवाती ११ घोषणा गर्ने क्रममा भने समर्थकले आफ्नो असन्तुष्टि व्यक्त गरे । फरवार्ड किलीयन एमबाप्पेको नाममा समर्थकले ताली बजाउँदा मेस्सी र नेयमारको नाम आएपछि भने दर्शकदिर्घाबाट असन्तुष्टि व्यक्त भयो । दक्षिण अमेरिकी फरवार्डद्वयको नाममा समर्थकले सिठी बजाउँदै ‘बु’ गरेका थिए ।

प्रशिक्षक माउरिसियो पोचेटिनोको नाम आउँदा पनि समर्थकहरुले ताली बजाएनन् । पिएसजी समर्थकमाझ ‘अल्ट्रा फ्यान’ नामले परिचित समूहले शनिबार नै च्याम्पियन्स लिगको नतिजालाई लिएर आइतबारको खेलमा असन्तुष्टि जनाउने बताएका थिए ।

पिएसजीले बोर्डोविरुद्ध ३-० को जित दर्ता गर्दा पनि मेस्सीले राम्रो प्रदर्शन गर्न सकेनन् । उक्त खेलमा एमबाप्पे, नेयमार र लिआन्द्रो पारेडेसले १-१ गोल गरे ।

मेस्सी र नेयमारप्रति समर्थकको यो व्यवहारबारे फरवार्ड लुइस सुआरेज र मिडफिल्डर सेस फाब्रिगासले सामाजिक संजालमार्फत आलोचना गरेका छन् । दुवै खेलाडी एक समय बार्सिलोनामा मेस्सी र नेयमारसँग खेल्ने गर्दथे ।

प्रकाशित : बुधबार, चैत ०२, २०७८१३:२४

पुन: रोनाल्डो-मेस्सी बिनाको च्याम्पियन्स लिग, लगातार दोस्रो वर्ष अन्तिम १६ बाट आउट !