एजेन्सी – चेल्सीका पूर्व डिफेन्डर फ्रान्क लेबोउफले लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको समय सकिएको बताएका छन्। पेरिस सेन्ट जर्मेन(पिएसजी) र म्यानचेस्टर युनाइटेड दुवै च्याम्पियन्स लिगबाट बाहिरिएसँगै लेबोउफले मेस्सी र रोनाल्डोको समय सकिएको बताएका हुन्।
एक मिडियासँग कुराकानी गर्नेक्रममा लेबोउफले फुटबलको नयाँ युग शुरु हुँदै गरेको र युवा खेलाडीहरु चम्किने समय आएको बताए। मेस्सी र रोनाल्डो इतिहाँसकै उत्कृष्ट खेलाडीको रुपमा गनिएपनि अब यी खेलाडीहरु भन्दा बढी नयाँ खेलाडीहरुलाई ध्यान दिइनुपर्ने लेबोउफको भनाई छ।
“समय फेरिएको छ। त्यो मेस्सी र रोनाल्डोका लागि प्पानी फेरिएको छ। मलाई लाग्छ कि हामीले यी खेलाडीहरूबाट ध्यान अन्य खेलाडीहरुमा सार्नुपर्छ। करियरको अन्त्यमा रहेका यी खेलाडीले के कस्तो गरिरहेका छन् भनेर तुलना गर्ने भन्दा पनि नयाँ खेलाडीहरु के कस्तो गर्दैछन् भन्ने हेरौं।”,लेबोउफले इएसपिएनसँग कुराकानी गर्नेक्रममा भने।
मेस्सी र रोनाल्डोको समय सकिन लागेको हो भन्ने प्रश्नमा आफ्नो धारणा राख्दै उनले युग परिवर्तन हुने तर्फ अगाडी बढेको बताए। अब एर्लिङ हालाण्ड र किलियन एम्बाप्पे जस्ता खेलाडीले के कसो गर्छन् भन्ने कुरालाई बढी प्राथमिकतामा राख्नुपर्ने लेबोउफको भनाई छ।
उनले भने,”मेस्सी र रोनाल्डो उत्कृष्ट थिए र अझै पनि उत्कृष्ट खेलाडीहरूमा पर्छन्। तर युग परिवर्तन भइरहेको छ। अहिले यी दुई विश्वका उत्कृष्ट खेलाडी होइनन्। हालाण्डको उदय भइरहेको छ। एम्बाप्पेको खेल हेर्न पनि धेरै बाँकी छ। साथै अन्य युवा खेलाडीहरु पनि अगाडी आउँदैछन्।

