एजेन्सी – पोर्चुगिज फरवार्ड डिएगो जोटा र ब्राजिली मिडफिल्डर रोबर्टाे फिर्मिनोको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आर्सनललाई पराजित गरेको छ । लिभरपुलले आर्सनललाई उसकै मैदानमा २–० को जित निकालेको हो ।
इमिरेट्स स्टेडियममा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा जोटा र फिर्मिनोले दोस्रो हाफमै गोल गरेका थिए । खेलको ५४औं मिनेटमा जोटाको गोलबाट लिभरपुलले खेलमा १–० को अग्रता लिन सफल भयो । उनले थियागो अलकान्ताराको पासमा गोल गर्न सफल भएका थिए ।
६२औं मिनेटमा रोबर्टाे फिर्मिनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गनए सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो ।
लिभरपुलसँगको हारसँगै प्रिमियर लिगमा आर्सनलको ६ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ । आर्सनल १ जनवरीमा शीर्षस्थानको म्यानचेस्टर सिटीसँग २–१ ले पराजित भएको थियो । त्यसपछि इएफएल कपमा २१ जनवरीमा लिभरपुलसँग २–० ले पराजित भएको थियो । पछिल्लो ९ खेलमा आर्सनलले ५ जित र समान २ बराबर र हारको नतिजा निकालेको थियो ।
यो जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी १ मा छोट्याएको छ । लिभरपुलको २९ खेलबाट ६९ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानको सिटीको ७० अंक छ । पराजित आर्सनल २७ खेलबाट ५१ ऋंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।
अर्काे खेलमा टोटेनहमले ब्राइटनमाथि २–० को जित निकालेको छ । टोटेनहमको जितमा क्रिस्टियन रोमेरो र ह्यारी केनले गोल गरे । टोटेनहमले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको थियो ।
जितपछि टोटेनहम २८ खेलबाट ४८ अ.क जोडेर सातौ स्थानमा उक्ल्दा पराजित ब्राइटन २९ खेलबाट ३३ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

