एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर फेडे भाल्भर्डेले कहिल्यै पनि बार्सिलोनाबाट नखेल्ने प्रण गरेका छन्। एक अन्तर्वार्ताका क्रममा भाल्भर्डेले जस्तो सुकै अवस्था आएपनि बार्सिलोनाबाट नखेल्ने बताएका हुन्।
एल लार्ग्वेरोसँग कुराकानी गर्नेक्रममा उनले रियल म्याड्रिडको सम्मान स्वरूप कहिल्यै बार्सिलोनाबाट नखेल्ने बताए। रियल म्याड्रिड आएपछि आफूले धेरै माया पाएको भाल्भर्डेको भनाई छ।
पेनारोल छाड्दा नै विश्वकै उत्कृष्ट क्लबमा जाँदैछु भन्ने थाहा भएको भाल्भर्डेले बताए। उनका अनुसार रियल म्याड्रिडले उनलाई धेरै सम्मान र स्नेह दिएको छ। रियल म्याड्रिडमा आवद्ध हुनु गर्वको कुरा रहेको पनि उनले सुनाए।
“रियल म्याड्रिड विशेष छ। यस क्लबले मेरो जीवन परिवर्तन गर्यो। म पेनारोलबाट आएको हुँ। त्यहाँबाट आउँदा नै म विश्वको उत्कृष्ट टोलीमा आवद्ध हुँदैछु भन्ने थाहा थियो। रियलको जर्सी लगाउन पाउनु गर्वको कुरा हो र त्यससँगै ठूलो जिम्मेवारी पनि आएको छ। सो जिम्मेवारी निभाउन कठिन भएपनि म रमाइरहेको छु। रियल म्याड्रिडले दिएको सम्मान र मायाका खातिर म कहिल्यै बार्सिलोनाबाट खेल्ने छैन।”

