एजेन्सी – रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबका अन्य अधिकारीहरुसँग विशेष छलफल गरेका छन्। जारी सिजन निष्कर्ष तर्फ अगाडी बढिरहेका बेला पेरेजले आउने समर ट्रान्सफर विन्डोमा कसरी प्रस्तुत हुने भन्ने योजना बनाउनको लागि क्लबका अन्य अधिकारीहरुसँग विशेष छलफल गरेका हुन्।
पेरेज र क्लबका महानिर्देशक जोसे एन्जल सान्चेजबीच बुधबार विशेष छलफल भएको स्पेनिस मिडियाहरुले जनाएका छन्। सो छलफलका क्रममा क्लबका अन्य महत्वपूर्ण अधिकारीहरु पनि उपस्थित भएको बताइएको छ।
छलफलका क्रममा किलियन एम्बाप्पे र एर्लिङ हालाण्ड दुवै खेलाडीका बारेमा गहन कुराकानी भएको मार्काले जनाएको छ। मार्काका अनुसार एम्बाप्पेलाई फ्री ट्रान्सफरमा भित्र्याउन सकिने विषयमा दुई बीच कुराकानी भएको थियो। त्यस्तै सो भेटघाटका क्रममा हालाण्डको विषयमा पनि छलफल भएको बताइएको छ।
खेलाडी भित्र्याउनेका अलावा खेलाडी बिक्रीका विषयमा पनि दुईले छलफल गरेका थिए। इडेन हाजार्ड, मारियानो डियाज, लुका जोभिक, ड्यानी सेबालोस र जेसस भ्यालेजो जस्ता खेलाडीलाई कसरी बिक्री गर्न सकिन्छ भन्ने विषयमा दुई बीच छलफल भएको थियो।
सुपर लिग
सुपर लिग गठन गरेर अगाडी बढिरहेको रियल म्याड्रिडका अध्यक्ष पेरेज र महानिर्देशक जोसे एन्जल सान्चेजबीच त्यस सम्बन्धमा पनि कुराकानी भएको बताइन्छ। युरोपेली फुटबल सर्वोच्च संस्था युइएफएले सुपर लिग अगाडी बढाएको खण्डमा प्रतिवन्ध लगाउने सम्भावना रहेको छ। तर पनि सो निर्णयबाट पछि नहट्ने दुई बीच एक प्रकारको सहमति बनेको स्पेनिस मिडियाहरु बताउँछन्।

