काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो ज्यान खतरामा रहेको बताएका छन्। बिहिबार पार्टीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले आफू माथि आक्रमणको खतरा अझै कायम रहेको बताएका हुन्।
लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिनेक्रममा प्रचण्डले आफ्नो बदनाम गर्ने र भौतिक रुपमा आक्रमण गर्ने प्रयास भइरहेको बताए। आफू मात्र नभई पार्टी माथि पनि बारम्बार आक्रमण भइरहेको प्रचण्डको भनाई छ। त्यसक्रममा प्रचण्डले पहिलो संविधानसभाको निर्वाचनमा जनमुक्ति सेनाका कमान्डरहरूले बचाएको उल्लेख पनि गरे।
“नेतृत्वको बदनाम गर्ने, आवश्यक पर्यो भने भौतिक रुपमा आक्रमण गर्ने रणनीति अहिले पनि कायम छ। पहिलो संविधानसभाको निर्वाचनमा मलाई जनमुक्ति सेनाका कमान्डरहरूले बचाएका हुन् । नत्र भने सिरहामा मारिने थिएँ।”,प्रचण्डले भने।
माओवादी पार्टी माथि पहिला देखि नै प्रहार हुने गरेकोमा त्यो क्रम अहिले पनि जारी रहेको प्रचण्डले बताए। माओवादी माथि भएनभएको आरोप लगाएर बद्नाम गर्ने काम भइरहेको प्रचण्डको भनाई छ।
उनले भने,”माओवादी पार्टीलाई पटक पटक छिनो–छिनो हुने गरी आक्रमण गरियो । यो अहिले पनि जारी छ। भएको कुरामा पनि गरिएको छ, नभएको कुरामा पनि गरिएको छ । त्यो अहिले पनि जारी रहेको छ।”