निकोलस एनेल्काका अनुसार लियोनल मेस्सीको पेरिस सेन्ट जर्मेन (पीएसजी) र क्रिस्टियानो रोनाल्डोको म्यानचेस्टर युनाइटेड अनुबन्ध हुने निर्णय बुद्धिमानी निर्णय नभएको भन्दै फुटबल जगतबाट सन्यास लिनु राम्रो उपाय भएको पूर्व फ्रान्सेली स्टारले सुझाव दिएका छन्।

अर्जेन्टिनी कप्तान र पोर्चुगिज सुपरस्टार खेलाडीले एकै ट्रान्सफर विन्डोमा आ-आफ्नो क्लब परिवर्तन गर्ने निर्णय गरेर फुटबल जगतमा ठूलो तरंग पैदा गरेका थिए। ७ पटकका ब्यालोन डी ओर विजेता मेस्सीले २१ वर्षीय लामो बार्सिलोना बसाई टुंग्याउँदै फ्रेन्च क्लब पीएसजी जाने निर्णय गर्दा ३७ वर्षय स्टार खेलाडी रोनाल्डो म्यानचेस्टर सिटीको प्रस्ताव अस्विकार गर्दै पूर्व क्लब म्यानचेस्टर युनाइटेडसँग अनुबन्ध भए।

तर दुबै खेलाडीको लागि जारी सिजन सोचे अनुरुप हुन सकेन, दुबै स्टार च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिएका छन् भने क्लबमा ठूलो प्रभाव पार्न सफल भएका छैनन्। यस्तोमा पूर्व विश्व विजेता अनेल्काले मेस्सी र रोनाल्डोलाई फुटबल खेल्न जारी राख्न मन लागेको नै भए चाइना जस्तो सजिलो गन्तव्य रोज्नु पर्ने धारणा राखेका छन्।

“धेरै समय खेल्न चाहने खेलाडीहरूलाई यस्तै हुन्छ,” एनेल्काले आरएमसी स्पोर्टलाई बताए, “उनीहरूको करियर सकिएको छ र मलाई लाग्छ कि तिनीहरू दुबैले गत १५ वर्षमा हासिल गरेको कुरामा धेरै खुसी हुनुपर्छ। तिनीहरू अरूभन्दा माथि थिए र अब तिनीहरूको स्तर तल झर्नु सामान्य कुरा हो।”

“म रोनाल्डोसँग भन्दा मेस्सीसँग बढी छक्क परेको थिएँ, मैले सोचें कि मेस्सी फ्रान्समा उत्कृष्ट लयमा फर्कनेछन् र रोनाल्डोलाई इङ्ल्याण्डमा धेरै कठिनाइ हुनेछ किनभने, मेरो लागि, प्रिमियर लिग विश्वको सबैभन्दा ठूलो च्याम्पियनशिप हो,” उनले भने, “[उनीहरू] बुद्धिमानी थिएनन्। उनीहरूले कम जटिल चुनौतीको सामना गर्ने बारे सोच्नुपर्थ्यो किनभने तपाईंले शीर्ष स्तरमा खेल जीवन समाप्त गर्न सही निर्णयहरू लिनु पर्छ। धेरै खेलाडीहरू छन् जो ३२, ३३, ३४ वर्षको उमेरमा आफ्नो करियर समाप्त गर्न हिचकिचाउँदैनन्। मैले ३६ वर्षमा छोडेको थिएँ। तर ३२ वर्षको उमेरमा म चाइनामा थिएँ।”

