एजेन्सी – फ्रेन्च स्टार करिम बेन्जेमाले एकक्लासिको गुमाउन सक्ने भएका छन्। केहि दिन देखि सामान्य चोट बोकिरहेका बेन्जेमाले आइतबार राति हुँदै गरेको एक क्लासिको गुमाउन सक्ने भएका हुन्।
बेन्जेमाको चोट त्यति गम्भीर नभएपनि उनले बार्सिलोना विरुद्धको खेल गुमाउन सक्ने सम्भावना देखिएको स्पेनिस मिडियाहरु बताउँछन्। बार्सिलोना विरुद्धको खेलमा बेन्जेमा सहभागी हुने ४० प्रतिशत मात्रै सम्भावना रहेको छ।
रियलका प्रशिक्षक कार्लो एन्सेलोटी बेन्जेमालाई पूर्ण रुपमा फिट नहुँदा प्रयोग गरेर जोखिम लिने मुडमा छैनन्। एन्सेलोटी बेन्जेमा च्याम्पियन्स लिगका लागि पूर्णरुपमा फिट हुन् भन्ने चाहन्छन्, जसकारण बेन्जेमालाई अहिले नै मैदानमा उतारेर जोखिम लिने उनको योजना छैन।
एन्सेलोटीले पछिल्लो पटक पनि यस्तै गरेका थिए। बेन्जेमा पछिल्लो पटक घाइते हुँदा एन्सेलोटीले उनलाई लालिगाका खेलहरुमा प्रयोग नगरी सिधै च्याम्पियन्स लिगमा प्रयोग गरेका थिए। उनको सो प्रयोगले काम पनि गरेको थियो। बेन्जेमाले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा ह्याट्रिक नै गरेका थिए।
लालिगामा रियलको स्पष्ट १० अंकको अग्रता छ। त्यस्तै बार्सिलोना भन्दा रियल १५ अंकले अगाडी छ। आइतबार राति हुने बार्सिलोना विरुद्धको खेलमा जित निकाल्न सकेको खण्डमा लालिगा उपाधिमा रियलको सम्भावना झनै बढ्नेछ।

