एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लिग उपाधिका लागि लिभरपुलले कडा टक्कर दिएको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा उपाधि होडमा लिभरपुलले दिएको टक्कर अद्भुत रहेको बताएका हुन्।
प्रिमियर लिगको उपाधि होडमा अहिले लिभरपुल र सिटी रहेका छन्। केहि समय अगाडी सिटी १० भन्दा बढी अंकले अगाडी रहेपनि अहिले अंक दूरी मात्रै एकमा आएको छ। लिभरपुलले लगातार उत्कृष्ट प्रदर्शन गरेसँगै अंक दूरी एकमा झरेको हो।
स्काई स्पोर्ट्ससँग कुराकानी गर्दै ग्वार्डिओलाले यसलाई अद्भुत चुनौतीको संज्ञा दिए। लिभरपुलले कडा टक्कर दिएपनि आफूहरु एक अंकले अगाडी रहेको र त्यसकै आधारमा आफूहरु अगाडी बढ्ने ग्वार्डिओलाले बताए।
“यो नै हो जे छ। हामी अब लिगको शिर्ष स्थानमा आउने १४ दिन सम्म सुत्नेछौँ। त्यसपछि के गर्न सकिन्छ हेरौंला। अन्तर्राष्ट्रिय विश्रामबाट फर्केपछि प्रिमियर लिगका नौ खेल खेल्नुछ। हामीले के गर्नु पर्छ भन्ने सबैलाई थाहा नै छ।”,ग्वार्डिओलाले भने।
प्रिमियर जितिन्छ भनेर ठोकुवा गर्न नसकिएपनि भाग्य सिटीकै हातमा रहेको ग्वार्डिओलाले बताए। उनले भने,”यो गजबको चुनौती हो। हामी उनीहरुको सामना गर्न तयार हुनुपर्नेछ। हामी अहिले प्रिमियर लिगमा अगाडि छौं। जित्छौं कि जित्दैनौं थाहा छैन तर भाग्य हाम्रो हातमा छ।”
मात्रै एक अंकको अन्तर रहेको अवस्थामा आउने केहि साता भित्र सिटी र लिभरपुल आमने-सामने हुँदैछन्। अप्रिल १० मा हुने सो खेलले प्रिमियर लिग उपाधि जित्ने टोलीको टुंगो लगाउन सक्नेछ।

