काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दुर्योधनसँग तुलना गरेका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मन्त्री आलेले ओलीलाई दुर्योधनसँग तुलना गरेका हुन्।
आलेले ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमन्डलाई नेपाली जनताले जवाफ दिने बताए। ओलीकै घमन्डका कारण वामपन्थीहरूको दुईतिहाइनजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको आलेको भनाई छ।
सो कार्यक्रममा बोल्नेक्रममा आलेले ओली सरकारले नै नारायणहिटी संग्रहालय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियाको हातमा बुझाएको आलेले आरोप लगाए। महाभारतको दुर्योधनमा भन्दा बढी घमन्ड ओलीमा चढेको र उनलाई जनताले आउने निर्वाचनमा जवाफ दिने आलेको ठोकुवा छ।
“आज कोही व्यक्तिको अहंकारले गर्दा संघको सरकार पनि गयो, प्रदेशको सरकार पनि गयो। अझै त्यो व्यक्तिले अब आउने बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जित्छु भन्ने जुन घमन्ड गरेको छ। त्यो घमन्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुईटैलाई दाँज्यौँ भने अहंकारमा कुनै कमी छैन। तपाईंहरू मूल्यांकन गर्नुहोस्। जनताले आगामी बैशाख ३० गते जवाफ दिनेवाला छन्।”,आलेले भने।

